बैंकक–काठमाडौँ उडानको प्रयासमा थाई एयर एसिया

काठमाडौँ १५ असार

एयर एसिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ । थाई एयर एसियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो ।
बैंककाट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्ने इच्छा जनाउँदै थाई एयर एसियाले हालै निवेदन दिएको र सम्पूर्ण कागजातबारे अध्ययन भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले राससलाई जानकारी दिए । “थाई एयर एसियाले काठमाडौं उडान गर्ने योजना अनुरुप प्राधिकरण समक्ष निवेदन दिएको छ । उसको एयर एसिया एक्ससँगको सम्बन्ध, अन्तर्राष्ट्रिय उडानका मापदण्ड पूरा गरेको छकी छैन यो सबै विस्तृत अध्ययन गरेपछि मात्र उडान अनुमति दिइन्छ । अहिले कम्पनीले पेस गरेको कागजातको अध्ययन प्रक्रियामा छ,” उनले भन ।

प्रारम्भिक कागजात बुझाएको छ । सबै प्रक्रिया पूरा गरेको भए दुई महिनाभित्र उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज र निजी क्षेत्रको थाई लाइन एयरले बैंककाट–काठमाडौं गन्तव्यमा सातामा समान सात उडान गर्दै आएका छन् । नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बैंकक सातमा तीन उडान गर्दै आएको छ ।
अहिले नेपाल आउन चाहेको थाई एयर एसिया पनि निजी क्षेत्रको संयुक्त लगानीको कम्पनी छ । बैंकक मुख्यालय रहेको यो कम्पनी मलेसियाको एयर एसियासँग ‘ज्वाइन्ट भेन्चर’ को रुपमा छ । यसको एयर एसिया एक्ससँगको सम्बन्धका बारेमा नेपालले अध्ययन गरिरहेको छ । एयर एसियाले क्यानलाई करोडौं बक्यौता नतिरी काठमाडौं उडान केही महिना अगाडि बन्द गरेको थियो ।
प्राधिकरणको व्यवस्था बमोजिम नयाँ वायु सेवा प्रदायक कम्पनीले उडान अनुमतिका लागि बुझाउनुपर्ने सम्पूर्ण कागजात विस्तृत अध्ययन गरेपछि मात्र प्राधिकरणले उडान अनुमति दिन्छ । थाई एयर एसियाको मलेसियाको एयर एसिया एक्ससँगको सम्बन्ध भए नभएको पनि अध्ययन भइरहेको क्यानले जनाएको छ । यदि उक्त कम्पनीसँगको संयुक्त लगानी रहेमा एयर एशियाको बाँकी बक्यौता तिरिदिने सम्झौता भएको खण्डमा थाई एयर एसियालाई उडान अनुमति दिन सकिने क्यानले जनाएको छ ।
त्यतिमात्र नभई थाई एयर एसियाको सञ्चालन, व्यवस्थापन सुरक्षा र नेपालको कानूनसँग सञ्चालन योग्य हुन्छ की हुँदैन यो सबै हेरेर मात्र उडान अनुमति पाउनेछ । कम्पनीका कागजात नेपाली पाइलट र इन्जिनियरले अध्ययन गरेर उडान योग्य भएको सिफारिस गरेपछि मात्र प्राधिकरणले अनुमति दिने बताइएको छ ।
नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्यांकनका लागि पनि थाई एयर एसियाले प्राधिकरणलाई पत्र पठाएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार थाई एयर एसियाले विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पत्र पठाएको छ ।
उक्त कम्पनीको टोलीले नेपालमा उडान गर्नुअघि विमानस्थलको सुरक्षा मूल्याङ्कन गर्न पाँच वटा पास पनि मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया