बैंकिङ्ग प्रणालीमा अधिक तरलता : राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं, चैत ३, २०८१ । बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घटिरहेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिने क्रममा सुधार नदेखिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत तरलता खिचिरहेको छ । सोही क्रममा चैत ३ गते (आज) पुनः बैंकिङ्ग प्रणालीबाट केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर बैंक ब्याजदर एक प्रतिशतभन्दा तल झरेको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको मार्फत बैंकिङ्ग प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

२१ दिन पश्चात् अर्थात् चैत २४ गते निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया