बैङ्कमा पर्याप्त साना नोट छन् : आरबीआई

कात्तिक २९ नयाँ दिल्ली (भारत) ।

भारतको केन्द्रीय बैङ्कले बैङ्कहरूमा साट्नका लागि पर्याप्त रकम भएको बताएको छ । बैङ्कमा पैसा साट्न मानिसको भीड उर्लिंदै गएर भागदौडको स्थिति उत्पन्न भएपछि ‘रिजर्व बैङ्क अफ इण्डिया’ (आरबीआई)ले आइतवार यस्तो बताएको हो । ‘केन्द्रीय बैङ्क र बैङ्कहरूमा साना डेनोमिनेशनका नोट पर्याप्त छन्’ आम जनताका नाममा जारी विज्ञप्तिमा आरबीआईले भनेको छ ।

बैङ्कसँग पर्याप्त मात्रामा यस्ता नोट भएको र उनीहरूले चाहेको बेलामा नै पैसा झिक्न सक्ने भन्दै बैङ्कले बारम्बार बैङ्कमा आइरहनु नै नपर्ने विज्ञप्तिमा बताएको छ । देशका केही हिस्सामा सोमवार बैङ्क बन्द हुने र एटीएममा समेत पैसा नहुँदा अधिकांश मानिस बैङ्कका शाखामा थु्प्रिएका छन् । सरकारले मङ्गलवार बजारमा प्रचलनमा रहेका ५ सय र १ हजार रुपयाका नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

कालोधन, भ्रष्टाचार र नक्कली नोट नियन्त्रण गर्नका लागि सरकारले चालेको अप्रत्याशित कदमले आम जनता भने दुःखमा परेका छन् । प्रतिबन्धित नोटहरू साट्नका लागि सरकारले डिसेम्बर ३० सम्मको समय दिएको छ । यस्ता नोटहरू बैङ्क र हुलाक कार्यालयबाट साट्न सकिने व्यवस्था गरिएको छ । तर, प्रचलनमा रहेका नोटको ८० प्रतिशत हिस्सा ठूला नोटले लिएकाले अहिले करोडौं मानिससँग नगद नै नभएको र दैनिक आर्थिक गतिविधिसमेत ठप्प हुने अवस्था उत्पन्न भएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया