बैङ्क तथा वित्तीय संस्थालाई नयाँ क्षेत्र खोजेर लगानी गर्न गभर्नरको सुझाव

वैशाख १४ बुटवल ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले बैङ्क तथा वित्तीय संस्थालाई नयाँ नयाँ क्षेत्रको खोजी गरेर लगानी गर्न सुझाव दिएका छन् । उनले बैङ्क तथा वित्तीय संस्थाको तरलतालाई व्यवस्थापन गर्न र लगानी फैलाउन सुझावसमेत दिए । उनले भने– “लगानीको क्षेत्र जति फैलिँदै जान्छ देशको आर्थिक विकासमा टेवा पुग्छ । हाम्रो स्वाभिमान उच्च रहन्छ ।”

गभर्नर नेपालले सोमबार बुटवलमा मेगा बैङ्क लिमिटेड र पश्चिमाञ्चल डेभलपमेन्ट बैङ्कको संयुक्त कारोबार शुरुवातको उद्घाटन गर्दै बैङ्कहरु गाभिएपछि यसको व्यवस्थापकीय सुशासन महत्वपूर्ण हुने भएकाले लगानीकर्ताले व्यवस्थापन पक्षलाई दबाबमा पारेर सुशासन बिग्रने वातावरण नबनाउन पनि सुझाव दिए । उनले बैङ्कमा लगानी गरेर कमाउँछु भन्नु बैङ्कलाई धरासायी पार्ने काम रहेको बताए ।

बैङ्क तथा वित्तीय संस्थाको अर्थतन्त्रमा मध्यस्थताको भूमिका रहने र व्यवसायीलाई सरल र सहज सेवा प्रदान गर्नु प्रमुख जिम्मेवारी हुने उनको भनाई थियो । नाकाबन्दी र मधेस आन्दोलन पछि अर्थतन्त्र विप्रेषण र सञ्चितिले बिस्तारै राम्रो हुँदै गएको र मुद्रास्फिति नियन्त्रण आउँदै गरेको उनको भनाइ थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया