बैतडीलगायत सुदूरपश्चिममा हिमपात

काठमाडौँ २४ पौष

बैतडी -एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै शनिबार राति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ। जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको हो। हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा शनिबार रातिदेखि गाडी नै चल्न नसकेको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिए। उनले भने– ‘राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको छ, डोजरले हिउँ पन्छाइ राजमार्ग खुलाइन लागिएको छ।’ राजमार्ग अवरुद्घ हुँदा बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडाैं र जिल्ला भित्रिने दर्जनौँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन्।

यस्तै हिमपातले सुदूरपश्चिमका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्गलगायतका सडकखण्ड अवरुद्घ भएको बताइएको छ। वर्षासँगैको हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ। चिसोले बढीजसो बालबाललिका र वृद्घवृद्घा प्रभावित भएका छन्। लामो समयपछि वर्षा भएपछि किसान भने हर्षित भएका छन् । वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकामा चिन्तित भएका किसान वर्षापछि हर्षित भएका हुन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया