ब्रिक्स सम्मेलन सम्पन्न, सहकार्यका लागि अनुपम अवसरः प्रधानमन्त्री दाहाल

बिजनेसपाटी १ कार्तिक

बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन आइतबार गोवा सम्पन्न भएको छ । घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्तरुपमा काम गर्न सकिने सम्भावनालाई पहिल्याउने उल्लेख गरिएको छ ।

ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको सम्मेलनले जारी गरेको यस घोषणापत्रमा बिम्स्टेकसँगको आउटरिच कार्यक्रमले ब्रिक्स र बिम्स्टेकको सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसरका रुपमा उल्लेख गरिएको छ । बिम्स्टेकमा भारत, थाइल्याण्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, नेपाल र भुटान रहेका छन् ।

घोषणापत्रमा भारतले ब्रिक्सको पहिलो व्यापार सम्मेलन भारतमा गर्ने पहल लिएको र यसले ब्रिक्स मुलुकबीच व्यापारलाई अगाडि बढाउन सहयोग गर्ने उल्लेख गरिएको छ ।

ब्रिक्स घोषणापत्रमा सबै खालका आतङ्कवादलाई निन्दा गर्दै भारतमा हालै भएको आतङ्ककारी हमलाको पनि निन्दा गरिएको छ । यसैगरी, सम्मेलनमा ब्रिक्सका राष्ट्रहरु कृषिसम्बन्धी ब्रिक्सको अनुसन्धान प्लेटफर्म बनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्न सहमत देखिएका छन् ।

ब्रिक्सको घोषणापत्र जारी भएपछि बिम्स्टेक देशका सरकार प्रमुखहरुसँग ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन भएको थियो ।

सहकार्यका लागि अनुपम अवसर
प्रधानमन्त्री दाहालले ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन सदस्य मुलुकहरुबिच वार्ता र सहकार्यका लागि अनुपम अवसर भएको बताए।ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलनलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले विश्वको एक तिहाईभन्दा बढी जनसङ्ख्या र एक चौथाई कूल गार्हस्थ्य उत्पादनको प्रतिनिधित्व गर्ने बताए।

बिम्स्टेकले यस क्षेत्रका डेढ अर्ब भन्दा बढी जनसङ्ख्याको विकास र उज्ज्वल भविष्यका लागि सामूहिक अभिलाषा राख्नुपर्ने धारणा राख्दै ब्रिक्स यस क्षेत्रको आर्थिक रुपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राखे।

यस क्षेत्रका अपार सम्भावनालाई व्यवहारमा साकार पार्न ब्रिक्स र बिम्स्टेकबिच बलियो साझेदारीको आवश्यककता औँल्याउँदै उहाँले भारत दुवै समूहको महत्वपूर्ण सदस्य भएकाले उसले साझा सेतुको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

यस क्षेत्रका लाखौं नागरिकलाई गरिबीको दुश्चक्रबाट मुक्ति दिलाउन  विगत दुई दशकदेखि ब्रिक्सको प्रतिबद्धता जारी रहेको बताउँदै उनले यसले विश्व अर्थतन्त्रलाई आर्थिक सङ्कटका बाबजुद स्थिर राख्न मद्दत गरेको छ भने।

पहिलो पटक साझेदारी र अवसरका विषयमा ब्रिक्स र बिम्स्टेक सदस्य मुलुकबीच छलफल भएकोमा खुशी व्यक्त गर्दै उनले यसले ठूलो सम्भावनाको ढोका खोलेको बताए। शिक्षा र मानव संशाधन विकासको सहयोगबाट दुवै समूहले लाभ लिन सक्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि युवा जनशक्तिलाई सदुपयोग गर्न सकिने धारणा राखे।

कृषि हामी सबैजसोको अर्थतन्त्रको मुख्य पक्ष हो भन्दै उहाँले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिले रुपान्तरण गर्नुपर्नेमा जोड दिए। ऊर्जा विकासमा सहकार्य गर्न सके यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै उहाँले नवीकरणीय ऊर्जाको उपयोगले स्वच्छ र हरित विकास ल्याउन सकिने उल्लेख गरे।

अन्तरक्षेत्रीय सञ्जालका लागि अत्याधुनिक पूर्वाधारले सबै प्रकारका आवागमनका माध्यम (सडक, रेल, जलयात्रा, हवाइमार्ग र प्रसारणलाइन)को सुविधाले यस क्षेत्रका वस्तु, सेवा र नागरिकलाई जोड्न सकिने उनको धारणा थियो ।

ब्रिक्स सदस्य मुलुकले नयाँ बैंक स्थापना र सञ्चालन गर्न सफल भएकोमा बधाई दिँदै त्यसबाट यस क्षेत्रको पूर्वाधार परियोजना र कार्यक्रमको दिगो विकासलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे।

आतङ्कवादको त्रास, त्यसका स्वरुपहरु, मानव तथा लागुऔषधको बेचबिखन र अन्य अन्तरदेशीय अपराधका विरुद्धमा सामूहिक रुपमा लड्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

सम्बोधन क्रममा उनले बिम्स्टेकको महत्वपूर्ण सदस्य राष्ट्र थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधनमा त्यहाँको सरकार र नागरिकप्रति हार्दिक समवेदना पनि व्यक्त गरे। प्रधानमन्त्री दाहालले उक्त सम्मेलन आयोजना गर्ने मुलुक भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद  पनि ज्ञापन गरे। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया