भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने

चितवन १९ जेठ ।

भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ। यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ।

बजेटमा सो विमानस्थलाई प्रदेशस्तरीय बनाइने उल्लेख छ। विमानस्थलको धावनमार्ग छोटो हुँदा र अतिक्रमण बढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको जनाइएको छ। विमानस्थल जोखिमपूर्ण भएपछि भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सरोकारवालाको छलफलसमेत गरिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले विमानस्थल बिस्तार हुन लागेको जानकारी दिए।  महानगरपालिकाले सेनाको गण र सो केन्द्रका लागि वैकल्पिक स्थान दिइसकेको छ। महानगर प्रमुख रेनु दाहालले विमानस्थल बिस्तारको काम अघि बढेको बताइन्।  महानगरले सेनालाई चार वटा ठाउँ विकल्पका रुपमा दिएको छ। ठाउँको विस्तृत विवरणसमेत मन्त्रालयमा पठाइसकिएको छ।

मन्त्री भट्टराईले महानगरमा छलफलपछि विमानस्थल बिस्तार सम्बन्धमा अध्ययन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलको प्रतिवेदनमा छलफल भइसकेको छ। महानगर प्रमुख दाहालले भनिन्, “सरोकारवाला सबै सकारात्मक भएपछि विमानस्थल बिस्तारको काम अघि बढेको छ।”

विमानस्थल प्रदेशस्तरको बन्ने हुँदा छिमेकी जिल्लावासी पनि लाभान्वित हुने उनले बताइन्। विमानस्थलबाट १५० किलोमिटर हाराहारीमा काठमाडौँ, पोखरा, भैरहवा र निजगढ विमानस्थल पर्छ। विमानस्थल बिस्तारभएपछि श्री एयरलायन्सको ८० सिटे जहाज, बुद्ध र यतीको एटिआर ७२, श्रीकै सि आर जे ५० र ७० सिटे जहाज अवतरण तथा नेपाल एयरलायन्सको ६० सिटे जहाज एमए ६० पनि उडान गर्न सक्नेछ।

६२ बिघामा रहेको विमानस्थल बिस्तार गर्दा ७२ बिघा थप हुनेछ। हालको एक हजार २०० मिटर लामो धावनमार्गमा ४५० मिटर थप गर्न सकिने गौतमले जानकारी दिए।  विस्तारसँगै रात्रिकालीन उडान, जहाज राख्ने र तेल भर्ने व्यवस्था यही हुनेछ। भौतिक संरचना निर्माण गरेर आकर्षक विमानस्थल बन्ने उनको भनाइ छ। टर्मिनल भवन छुट्टै बन्ने छ।

पर्यटनमन्त्री भट्टराईले यहीँबाट माउन्टेन फ्लाइटसहितका विभिन्न जिल्लामा उडान गर्न सक्नेगरी विमानस्थल बिस्तार गर्ने बताएका थिए।  हाल यहाँबाट दिनको समयमा मात्र काठमाडौँ र पोखरा उडान हुँदै आएको छ। धावनमार्ग विस्तार गर्दै गर्दा अतिक्रमण गरी मापदण्ड मिचेर बनाइएका संचना भत्काएर व्यवस्थित गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ।

हाल प्रदेशस्तरका नेपालगञ्ज, विराटनगर, पोखरा र भौरहवा विमानस्थल छन्। त्यही स्तरको विमानस्थल भरतपुरमा बिस्तार गर्न लागिएको हो। यस विमानस्थलले वाग्मती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्ला, नवलपरासी, तनहुँलगायतका बासिन्दालाई समेत सेवा दिँदै आएको छ। साना जहाज मात्र उड्ने भएकाले भाडा बढी तिर्न यात्रु बाध्य छन्। बिस्तार भएसँगै जहाजको भाडादर कम हुने अपेक्षा गरिएको छ।RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया