कांग्रेसले मन्त्रीको नाम छनोट गर्न सकेन

काठमाडौँ ९ भदौ –

भागबन्डा नमिल्दा कांग्रेसले बुधबार पनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न सकेन। सभापति शेरबहादुर देउवाले बुधबार मन्त्रीको टुंगो लगाउने बताएका थिए । तर, नेता रामचन्द्र पौडेल पक्षले मागेजति भाग नपाएको भन्दै नाम नदिएपछि टुंगो लाग्न नसकेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

पार्टीको भागमा परेका १३ मध्ये पाँच मन्त्री र चार राज्यमन्त्री आफूले पाउनुपर्ने पौडेल पक्षले माग गरेको छ। तर, सभापति देउवाले चार मन्त्री र दुई राज्यमन्त्री मात्र दिने भनेपछि सहमति हुन सकेको छैन।

देउवाले मंगलबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडलनिवास बोहराटार पठाएका थिए। ‘मंगलबार साँझ चार मन्त्री र दुई राज्यमन्त्री दिने प्रस्ताव लिएर उपप्रधानमन्त्री विमलेन्द्र निधि निवासमा आउनुभएको थियो, त्यो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो,’ पौडेलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘सभापति विधि र पद्धतिअनुरूप चल्नुपर्‍यो । यो प्रस्ताव मान्न सकिन्न ।’

पौडेलले बुधबार बिहान आठ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला राखेका थिए । भेलामा पौडेलले सभापतिको प्रस्ताव सुनाएपछि स्विकार्न नसकिने नेताहरूले बताएका थिए । अपराह्न चार बजे पौडेलनिवास बोहराटारमा बसेको उनी पक्षका केन्द्रीय सदस्यसहित सभासद्हरूको भेलाले सम्मानजनक सहभागिताविना सरकारमा नजाने निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया