भारतको आर्थिक वृद्धि खस्किने
वासिङ्टन १ बैशाख
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले मे महिनाका लागि सार्वजनिक गरेको परिदृश्यले भारतको आर्थिक वृद्धि ओरालो लाग्ने जनाएको छ । एसिया–प्रशान्त क्षेत्रमा वृद्धि विस्फोटक हुने भए पनि अमुद्रीकरणका कारण नगद अभाव हुँदा भारतको आर्थिक वृद्धि ओरालो लाग्ने कोषको अनुमान छ ।
नेसनल एकाउन्ट्स स्ट्याटिक्सले नगद अभावका कारण हुन सक्ने आर्थिक प्रभावलाई कम आँकेको कोषले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
“क्षेत्रकै ठूलो अर्थतन्त्रको पछिल्लो वृद्धिको अवस्था बलियो नै छ । यसले चीन र जापानमा नीतिगत प्रोत्साहनको अवस्थालाई निम्त्याएको छ । यसले एसियाका अन्य अर्थतन्त्रलाई पनि लाभ पुग्ने देखिएको छ,” कोषको सन् २०१७ को रिजनल इकोनोमिक आउटलुकमा भनिएको छ, “मुद्रा विनिमयको चासोका कारण पर्न सक्ने अस्थायी प्रभावलाई मध्यनजर गर्दै वृद्धि प्रक्षेपण घटाइएको छ । कोरिया पनि राजनीतिक अनिश्चिततामा फसेकाले वृद्धिदर ओरालो लाग्न सक्नेछ ।”
२०१६ को अक्टोबरको प्रक्षेपणको तुलनामा नगद अभावले आर्थिक वर्ष २०१६–१७ मा वृद्धि मन्द हुने सम्भावना भएको कोषका कर्मचारीले गरेको विश्लेषणले देखाएको छ । कम्तीमा पनि निकटतम समयमा नगद अभावका कारण पर्न सक्ने आर्थिक प्रभावलाई कम आँकेको नेसनल एकाउन्ट्स स्ट्याटिक्सले जनाएको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया