‘भारतको मुद्रास्फीति उल्लेख्य रूपमा बढ्छ’

नयाँ दिल्ली ११ श्रावण  ।

भारतको मुद्रास्फीतिमा उल्लेख्य वृद्धि हुने एक प्रतिवेदनले देखाएको छ । जापानी वित्तीय सेवाप्रदायक कम्पनी नोमुराले बताएअनुसार यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा मुद्रास्फीति बढेर ४ दशमलव ४ प्रतिशतमा पुग्नेछ । सो अवधिमा मुद्रास्फीतिलाई खाद्यान्नको भाउ र बेस इफेक्टले डोहोर्‍याउने प्रतिवेदनमा उल्लेख छ । अहिले मुद्रास्फीति सुस्ताएको भए पनि मध्यकालीन अवधिमा यसमा उल्लेख्य वृद्धि हुने र केन्द्रीय बैङ्क ‘रिजर्व बैङ्क अफ इण्डिया’को लक्षित विन्दुभन्दा माथि पुग्ने नोमुराले बताएको छ ।

‘भारतमा उपभोक्ता मूल्यसूचक (सीपीआई)मा आधारित मुद्रास्फीति आरबीआईको मध्यविन्दु लक्ष्य (४ प्रतिशत)माथि जानेछ, ग्रामीण क्षेत्रको तलब, न्यूनतम समर्थन मूल्य, घट्दो उत्पादन अन्तर र खाद्यान्नको मूल्य बढेपछि सृजना हुने आपूर्ति मागको कबवेब मोडलले गर्दा सन् २०१८ मा कोर मुद्रास्फीति बढेर ६ दशमलव ३ प्रतिशत हुनेछ,’ प्रतिवेदनमा नोमुराले भनेको छ । यसबाहेक पनि सन् २०१६ को दोस्रो अर्धवार्षिक अवधिमा सीपीआई खाद्य मुद्रास्फीतिमा भएको उच्च वृद्धिले सन् २०१७ को बाँकी समयभरि प्रतिकूल बेस इफेक्ट उत्पन्न गराउनेछ ।

‘प्रतिकूल बेस इफेक्टले सन् २०१७ को दोस्रो अर्धवार्षिक अवधिमा हेडलाइन मुद्रास्फीति र कोर सीपीआई मुद्रास्फीति क्रमशः १ दशमलव ५ प्रतिशत र शून्य दशमलव ४४ प्रतिशत बढाउने हाम्रो अनुमान छ,’ प्रतिवेदनमा नोमुराले भनेको छ । जुनमा सीपीआई न्यून रहेको भए पनि खाद्यवस्तुको मूल्य घट्ने क्रम (अफस्फीति) फिक्का भएको, बेस इफेक्ट प्रतिकूल बनेको र केन्द्रीय सरकारका कर्मचारीहरूको उच्च घरभाडा भत्ताले जुलाईदेखि नै ‘हाउजिङ’ मुद्रास्फीति बढ्दा यस वर्षको अन्त्यसम्ममा यसमा क्रमिक वृद्धि हुने नोमुराको विश्वास छ ।

यस वर्षको जुन महीनामा तरकारी, गेडागुडी र दूधजन्य उत्पादनको भाउमा आएको कमीका कारण खुद्रा मुद्रास्फीति १ दशमलव ५४ प्रतिशतको ऐतिहासिक न्यून विन्दुमा आएको थियो । प्रतिवेदनअनुसार सन् २०१८ मा भने ग्रामीण भेगको बढ्दो तलब, उच्च न्यूनतम समर्थन मूल्य र घट्दो उत्पादन अन्तरले मुद्रास्फीति बढ्ने अपेक्षा गरिएको छ । सन् २०१७ को अन्त्यसम्ममा हेडलाइन कोर सीपीआई मुद्रास्फीति बढेर क्रमशः ४ दशमलव ४ प्रतिशत र ५ दशमलव २ प्रतिशतमा पुग्नेछ र सन् २०१८ मा भने यो क्रमशः ५ दशमलव ३ प्रतिशत र ६ दशमलव ३ प्रतिशत हुने हाम्रो अपेक्षा छ,’ अझ अगाडि प्रतिवेदनमा भनिएको छ । रासस/पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया