भारतबाट २१ अर्ब डलर कालोधन बाहिरियो

वैशाख २१, नयाँ दिल्ली  ।

पछिल्लो समय भारत सरकारले कालोधनलाई नियन्त्रण गर्न र देशबाहिर गएको कालोधन फिर्ता ल्याउन विभिन्न प्रयास गरिरहेको छ । तर, कालोधन नियन्त्रण गर्ने सरकारी प्रयास अझै पर्याप्त नरहेको सङ्केत हालै सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । अन्तरराष्ट्रिय वाचडग ग्लोबल फाइनान्सियल इण्टिग्रिटी (जीएफआई)ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१४ मा भारतबाट २१ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्य भएको कालोधन बाहिरिएको छ । कालोधन प्रवाहको यो आकार अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत बढी हो ।

प्रतिवेदनअनुसार सो अवधिमा भारतमा कालोधन आप्रवाहसमेत अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढेर १ खर्ब १ अर्ब डलरमा पुगेको छ । सन् २००५ देखि सन् २०१४ को अवधिमा भने भारतमा अनुमानित ७ खर्ब ७० अर्ब डलर कालोधन भित्रिएको छ । प्रतिवेदनअनुसार सोही अवधिमा त्यहाँबाट करीब १ खर्ब ६५ अर्ब डलर कालोधन बाहिरिएको छ । त्यस्तै सन् २०१४ मा मुख्यतः व्यापारिक धोकाधडीमार्फत विकसित अर्थतन्त्रबाट ६ खर्ब २० अर्ब डलरदेखि ९ खर्ब ७० अर्ब डलरसम्म बाहिरिएको हुन सक्ने प्रतिवेदनको अनुमान छ ।

सोही अवधिमा त्यहाँ १४ खर्बदेखि २५ खर्ब डलरबराबरको कालोधन भित्रिएको अनुमान गरिएको छ । ‘सन् २०१४ मा विकसित अर्थतन्त्रमा आप्रवाह र प्रवाह भएको कालोधनको आकार करीब १० खर्ब डलरबरारबको रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । सन् २०१४ सम्मको १ दशकमा विकसित अर्थतन्त्रमा भित्रिएको र बाहिरिएको कालोधनले यी देशको व्यापारको १४ प्रतिशतदेखि २४ प्रतिशतसम्म हिस्सा ओगटेको प्रतिवेदनमा उल्लेख छ । विश्वभर ८७ प्रतिशत गैरकानूनी वित्तीय प्रवाह नक्कली व्यापार बिलमार्फत भएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया