भारतमा यात्रुवाहक सवारीको विक्री बढ्यो

मङ्सिर २४, नयाँ दिल्ली (भारत) ।

सन् २०१६ को नोभेम्बर महीनामा भारतमा आन्तरिक यात्रुवाहक सवारीको विक्री बढेको छ । गतवर्षको यसै अवधिको तुलनामा यस वर्षको यात्रुवाहक सवारीको विक्री १ दशमलव ८२ प्रतिशतले बढेको बताइएको छ । यस वर्ष नोभेम्बर महीनामा मात्र २ लाख ४० हजार ९ सय ७९ थान यस्ता सवारीसाधनको विक्री भएको भारतीय अटोमोबाइल उत्पादक सङ्घको तथ्याङ्कले देखाएको छ । गतवर्षको तुलनामा साना सवारीसाधनको विक्री भने खासै उल्लेख्य रूपमा वृद्धि भएको छैन । गतवर्षको नोभेम्बरभन्दा ४९५ थान मात्र बढी साना सवारीसाधन विक्री भएको जानकारी दिइएको छ । तर, मोटरसाइकलको विक्री भने १० दशमलव २१ प्रतिशतले घटेको बताइएको छ । गतवर्षको यस अवधिमा ८ लाख ६६ हजार ६ सय ९६ थान मोटरसाइकल विक्री भएकोमा यस वर्ष ७ लाख ७८ हजार १ शय ७८ थान मात्र विक्री भएको जानकारी सङ्घले दिएको छ । समग्रमा दुईपाङ्ग्रे सवारीको विक्रीमा भने ५ दशमलव ८५ प्रतिशतले कमी आएको बताइएको छ ।

सङ्घले व्यावसायिक साना सवारीको विक्रीमा पनि ११ दशमलव ५८ प्रतिशतले न्यून भएको बताएको छ ।

यस अवधिमा सम्पूर्ण सवारीसाधनको विक्रीमा भने ५ दशमलव ४८ प्रतिशतले कमी आएको सङ्घको तथ्याङ्कले देखाएको छ । गतवर्ष यस अवधिमा सबैखाले गरी १६ लाख ५४ हजार ४०७ थान सवारी विक्री भएका थिए भने यस वर्ष १५ लाख ६३ हजार ६ सय ६५ थानमात्र सवारीसाधन विक्री भएको तथ्याङ्कमा उल्लेख छ । रासस/पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया