भारतीय अर्थतन्त्र विश्वकै छैटौँ ठूलो

काठमाडौँ ७ पौष

बेलायतलाई पछि पर्दै भारत विश्वकै छैटौँ ठूलो अर्थंतन्त्र भएको देश बन्न सफल भएको छ ।

ब्रेक्जिटपछि त्यहाँको मुद्रा पाउन्ड स्टर्लिङ गिरावट आउँदा भारतले उछिन्न सफल भएको हो । भारतले सन् १९९१ मा आर्थिक उदारीकरणको नीति लिएपछि उसको अर्थतन्त्र तीब्र गतिमा फैलिरहेको अवस्थामा बेलायतलाई पछि पार्न सफल भएको हो ।

१५० वर्षमा पहिलो पटक भारतले बेलायती अर्थतन्त्रलाई पछि पारेको हो । भारतले घरेलु उत्पादनलाई तीब्र गतिमा बढावा दिएपछि उसको अर्थतन्त्र अझ फैलिइरहेको थियो ।

भारतको यो फड्कोपछि उसको हैसियत विश्वमा छैटौँ ठूलो भएको हो । भारतले कुनै बेलाको औपनिवेशिक गुरुलाई उछिन्दै अमेरिका, चीन, जापान, फ्रान्स र जर्मनीपछि छैटौँ स्थानमा आएको हो ।

रोचक कुरा के भने युरोपियन युनियनबाट बाहिरिने निर्णयसँग बेलायतको अर्थतन्त्र खुम्चिन थालेको थियो । ब्रेक्जिटसँगै बेलायको अर्थतन्त्र फ्रान्सको भन्दा पनि तल झरेपछि अहिले भारतले पनि उछिन्न सफल भएको हो ।

गत अक्टोबरमा अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वर्षको अन्त्यसम्म भारतको अर्थतन्त्रले बेलायती अर्थतन्त्रलाई उछिन्ने भविष्यवाणी गरेको थियो ।

“भारत सातौँ ठूलो अर्थात २.२९ ट्रिलियन डलरको अर्थतन्त्र भएको मुलुक हो’, मुद्रा कोषले भनेको थियो, ‘बेलायतसँग केबल ५० अर्ब डलरको मात्रै अन्तर रहेको छ । यो पनि चालू आर्थिक वर्षको अन्त्यमा पुरा भएर भारतले बेलायतलाई उछिन्ने छ ।’

ब्रेक्जिटपछि पाउन्डको मूल्य घट्दा खुम्चेको बेलायतको अर्थतन्त्र २.२९ ट्रिलियनमा सीमित भएको छ भने भारतको अर्थतन्त्र २.३० ट्रिलियन डलरको भएको छ ।

विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले अन्तरराष्ट्रिय मुद्राकोषलाई उधृत गर्दै लेखेको समाचार अनुसार मालसामानको मूल्यमा आएको विश्वव्यापी गिरावट तथा अनुमान गरिए भन्दा कम मुद्रास्फितिले भारतीय अर्थतन्त्रले तीब्र गतिमा फैलिन पाएको थियो ।

भारत र चीन पछिल्ला वर्षमा तीब्ररुपमा अर्थव्यवस्था फैलने मुलुकमा थिए । चीनले अमेरिकाको अर्थव्यवस्थालाई केही वर्षमै उछिन्न आकलन गरिएका बेला भारतले यसै वर्ष बेलायतलाई उछिनेको हो ।

बेलायती अर्थतन्त्रलाई उछिनेको भारतीय अर्थव्यवस्थाको आकार सन् २०१९ सम्ममा जर्मनीको अर्थव्यवस्था जत्रै हुने अनुमान पनि मुद्रा कोषले गरेको छ । सन् २०१९ मै भारतले जर्मनीको अर्थतन्त्रलाई उछिन्ने पनि अनुमान उसले गरिसकेको छ।

विश्व अर्थव्यवस्थामा अमेरिका अहिले पनि पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा रहेको चीनले उसलाई टक्कर दिइरहेको छ । तेस्रो नम्बरमा अमेरिकाको आर्थिक साझेदार राष्ट्र जापान रहेको छ ।

फोर्ब्सले सन् २०२० सम्ममा भारतको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशत रहने जनाएको छ । तर बेलायतको आर्थिक वृद्धि १ देखि २ प्रतिशतमै सीमित रहने भएको छ।  फोर्ब्सले भनेको छ, ‘यो नाटकीय बदलाव पछिल्लो २५ वर्षमा भारतको तीब्र आर्थिक वृद्धि र पछिल्लो १२ महिनादेखि बेलायती पाउन्डको मूल्यमा तीब्र गिरावटका कारण सम्भव भएको हो ।’

मुद्रा कोषको रिपोर्टलाई आधार मान्दै सन् २०२० सम्ममा भारतको अर्थव्यवस्था बेलायको भन्दा धेरै हुने अनुमान गरेको थियो । तर पछिल्लो १२ महिनामा पाउन्डको मूल्य २० प्रतिशत भन्दा धेरै घट्दा भारतले यो मौका पाएको हो ।

यसअघि भारतले बेलायती अर्थतन्त्रलाई सन् २०२० मा उछिन्ने अनुमान गरिएको थियो । तर, ब्रेक्जिटका कारण पाउन्ड आएको भारी गिरावटले बेलायती अर्थतन्त्र खुम्चिँदा भारतले चार वर्षअगावै बेलायतलाई उछिनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया