भारतीय कारखाना क्षेत्रमा सङ्कुचन

पुस १९, नयाँ दिल्ली (भारत) ।

सन् २०१६ को अन्तिम महीना भारतको म्यानुफ्याक्चरिङ क्षेत्रमा सङ्कुचन आएको छ । सरकारले ५ सय र १ हजार भारू नोट खारेज गरेपछि उत्पन्न नगद सङ्कटले गत महीना कारखाना क्षेत्रको गतिविधिमा वर्षकै पहिलो सङ्कुचन ल्याएको सोमवार सार्वजनिक एक निजी सर्वेक्षण प्रतिवेदनले देखाएको हो । नोभेम्बरमा ५२ दशमलव ३ अङ्क रहेको निक्केई इण्डिया म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इण्डेक्स (पीएम्आई) सूचक डिसेम्बरमा ४९ दशमलव ६ अङ्कमा आएको छ । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि दर्शाउने सूचक ५० अङ्कभन्दा तल रहनुले सो क्षेत्र खुम्चिरहेको सङ्केत दिन्छ । ‘डिसेम्बरको पीएम्आई तथ्याङ्कले के देखाएको छ भने रुपयाको अमौद्रिकीकरणले म्यानुफ्याक्चरिङ क्षेत्रको प्रदर्शन प्रभावित भएको छ,’ सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

नगद अभाव र कार्यस्थलमा थोरै गतिविधिले सो अवधिमा रोजगारी घटेको र उपभोक्ताको क्रयशक्ति क्षय भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारले नोभेम्बर ८ देखि लागू हुने गरी प्रचलनमा रहेको सबैभन्दा ठूला दुई कागजी नोट खारेज गर्नु नै पीएम्आई सूचक घट्नुका मुख्य कारण हो । यसका कारण अर्थतन्त्रमा नगद अभाव भएपछि नयाँ अर्डरसमेत घटेको बताइएको छ । ‘पुराना नोट साट्ने अवधि डिसेम्बरको अन्त्यमा नै सकिएको अवस्थामा म्यानुफ्याक्चरिङमा शीघ्र सुधार हेर्न जनवरीकै तथ्याङ्क कुर्नुपर्दछ,’ आईएच्एस् मार्किटका अर्थशास्त्री तथा प्रतिवेदनकी लेखिका पोलियाना डि लिमाले भनिन् ।

जर्मनीको म्यानुफ्याक्चरिङ वृद्घि झण्डै ३ वर्षकै उचाइमा
सोही अवधिमा जर्मनीको म्यानुफ्याक्चरिङ वृद्धि झण्डै ३ वर्षकै उचाइमा पुगेको एक सर्वेक्षणले देखाएको छ । एशिया तथा अमेरिकामा जर्मनीको म्यानुफ्याक्चर्ड वस्तुको मागमा भएको वृद्घिले जर्मनीको समग्र म्यानुफ्याक्चरिङ वृद्घि उचाइमा पुगेको अनुसन्धान संस्था मार्किटले गरेको सर्वेक्षणले देखाएको हो । यसले गतवर्षको चौथो त्रैमासमा यस क्षेत्रले उल्लेख्य वृद्घि हासिल गर्न सक्ने सङ्केत दिएको बताइएको छ ।

नोभेम्बरमा ५४ दशमलव ३ अङ्कमा रहेको मार्किटको म्यानुफ्याक्चरिङ क्षेत्रको पर्चेजिङ म्यानेजर्स इण्डेक्स (पीएम्आई) डिसेम्बरमा भने ५५ दशमलव ६ अङ्कमा उक्लिएको थियो । डिसेम्बरको सूचक ३५ महीनाकै उच्च हो । म्यानुफ्याक्चरिङ क्षेत्रले जर्मनीको अर्थतन्त्रको पाँच भागको एक भाग हिस्सा ओगट्ने गरेको छ । म्यानुफ्याक्चरिङ क्षेत्रमा भएको विस्तारले कुल गार्हस्थ्य उत्पादनलाई थप बढाउन योगदान दिने विश्लेषण गरिएको छ । घरेलु मागका साथै एशिया, यूरोप तथा अमेरिकाको मागमा समेत वृद्धि हुँदा कारखाना विस्तार भएको हो ।

फ्रान्सको पनि बढ्यो
यसैगरी गतवर्षको अन्तिम महीनामा फ्रान्सको म्यानुफ्याक्चरिङ गतिविधि पनि साढे ५ वर्षकै उचाइमा पुगेको छ । नोभेम्बरमा ५१ दशमलव ७ अङ्कमा रहेको सूचक डिसेम्बरमा भने ५३ दशमलव ५ अङ्कमा उक्लिएको थियो । सो अवधिमा कारखानामा कामदार भर्नादर र नयाँ अर्डरमा भएको वृद्घिले क्षेत्रको विस्तारमा सहयोग पु¥याएको हो । डिसेम्बरको सूचक सन् २०११ को मेयताकै उच्च हो । मागको प्रतिकूल अवस्थाले कम्पनीहरूलाई उत्पादन बढाउन प्रेरित गरेका कारण यस्तो भएको हो । एजेन्सीहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया