भारत विश्वकै उत्कृष्ट विदेशी लगानी गन्तव्य

नयाँ दिल्ली १४ जेठ, ।

सन् २०१६ मा भारत विश्वकै उत्कृष्ट विदेशी प्रत्यक्ष लगानी (एफडीआई) गन्तव्य बन्न सफल भएको छ । गतवर्ष भारतमा ६२ अर्ब ३० करोड डलर विदेशी लगानी भित्रिएको फाइनान्सियल टाइम्सले तयार गरेको एक एफडीआई प्रतिवेदन २०१७ मा यस्तो बताइएको हो । यससँगै भारत लगातार दोस्रो वर्षमा विश्वकै ठूलो एफडीआई प्राप्तकर्ता बनेको बताइएको छ ।

एफडीआई आप्रवाहका आधारमा गतवर्ष भारत, चीन र अमेरिकालाई उछिन्दै शीर्ष स्थानमा आउन सफल भएको प्रतिवेदनमा भनिएको छ । गतवर्ष पूँजीगत लगानीको माध्यमबाट भारतमा भित्रिएको विदेशी लगानी २ प्रतिशतले बढेर ६२ अर्ब ३० करोड डलरमा उक्लिएको थियो । सो अवधिमा ८ सय ९ ओटा परियोजनामा सो लगानी भित्रिएको बताइएको छ । विश्वमा लगानीसम्बन्धी परिदृश्यमा परिवर्तन आएको प्रतिवेदनमा भनिएको छ ।

गतवर्ष सृदृढ आर्थिक वृद्धि हासिल गरिरहेका अर्थतन्त्रहरूमा विदेशी लगानीको अ‍ोइरो लागेको र मन्दीका साथै अन्य ठूला अनिश्चयको सामना गरिरहेका अर्थतन्त्रहरूमा भने लगानीमा उच्च कमी आएको पाइएको छ । गतवर्ष चीनले पनि अमेरिकालाई उछिन्दै दोस्रो ठूलो विदेशी लगानी प्राप्तकर्ता बनेको छ । त्यस्तै गतवर्ष विश्वमा रियल इस्टेट क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानी भित्रिएका थियो । सो अवधिमा यस क्षेत्रमा भित्रिएको लगानी ५८ प्रतिशतले बढेर १ खर्ब ५७ अर्ब ५० करोड डलरमा उक्लिएको थियो । रासस/पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया