भारत विश्व आर्थिक वृद्धिको मुख्य केन्द्र

न्यूयोर्क (अमेरिका) २४ असार ।
भारत विश्वको आर्थिक वृद्धिदरको मुख्य केन्द्र हुने एक अध्ययनले देखाएको छ । हार्वर्ड युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार आउँदो दशकमा भारत चीनभन्दा पनि अगाडि रहनेछ र यो विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र हुनेछ । त्यस्तैगरी, आउँदो दशकमा विश्वको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनीसमेत अध्ययनले दिएको छ । सन् २०२५ सम्म वार्षिक औसत ७ दशमलव ७ प्रतिशतको वृद्धिसहित भारत र युगाण्डा तीव्र दरमा अर्थतन्त्र बढ्ने देशका रूपमा रहनेछन् ।
‘विगत केही देशकमा विश्वको आर्थिक वृद्धिको मुख्य विन्दु चीनबाट सरेर छिमेकी मुलुक भारतमा आएको छ, यो आगामी दशकमा समेत रहिहनेछ,’ अध्ययन प्रतिवेदनमा हार्वर्ड युनिभर्सिटीको सेण्टर फर इण्टरनेशनल डेभलपमेण्ट (सीआईडी)का अनुसन्धाताहरूले भनेका छन् । त्यस्तैगरी, सो अवधिमा उदीयमान बजारको आर्थिक वृद्धिको गतिले विकसित अर्थतन्त्रलाई निरन्तर उछिन्नेछ । यद्यपि, वृद्धिको गति देशैपिच्छे फरकफरक हुन सक्ने प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनअनुसार पूर्वी अफ्रिका र इण्डोनेशिया तथा भियतनामको नेतृत्वमा दक्षिण पूर्वी एशिया वृद्धिको नयाँ केन्द्र बन्न सक्नेछ ।
निर्यातमा ल्याएको विविधता, नयाँ क्षेत्रमा विविधीकरण र विद्यमान सबल क्षमताजस्ता कारकहरूले भारतको तीव्र आर्थिक वृद्धिमा टेवा दिने अनुसन्धाताहरू बताउँछन् । उता, नयाँ तथ्याङ्कहरूले चीनको निर्यात घटिरेहेको देखाएको छ । आर्थिक जटिलता सूचकमा चीन सन् २००८/०९ को विश्वव्यापी वित्तीय सङ्कटयता पहिलो पटक ४ स्थान तल आएको छ । ‘चीनको तीव्र आर्थिक वृद्धिदरले विगतमा यसको जटिलता र आयबीचको असमानता घटाएको थियो,’ प्रतिवेदनमा भनिएको छ । यद्यपि, आउँदा दशकमा चीनको आर्थिक वृद्धिदर वार्षिक औसत ४ दशमलव ४ प्रतिशत हुने र यो विश्वव्यापी औसतभन्दा माथि रहने बताइएको छ ।
भारतलाई आर्थिक महाशक्ति बनाउने दाउमा रामदेव
भारतीय योगगुरु बाबा रामदेवले भारतलाई आर्थिक महाशक्ति बनाउने लक्ष्य लिएका छन् । सन् २०४४ सम्ममा भारतलाई आर्थिक महाशक्ति बनाइने मुम्बईमा आयोजित एक कार्यक्रममा रामदेवले बताएका हुन् । यसका लागि दीर्घकालीन सोच राख्नुपर्ने र यसमा स्थानीय ब्राण्डले मद्दत गर्ने उनको भनाइ छ । रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जलिले हालैका वर्षमा भारतीय बजारमा ठूला बहुराष्ट्रिय कम्पनीका ब्राण्ड र उत्पादनहरूलाई पछि पारेको छ । यस्तोमा स्थानीय ब्राण्डहरूको मद्दतले भारतलाई आर्थिक महाशक्ति बनाउन सकिने उनको दाबी छ । एजेन्सी
रासस/पीटीआई
फेसबुकबाट तपाईको प्रतिक्रिया