‘भूत बंगला’मा परिणत हुँदै आईटी पार्क

काभ्रे १८ माघ
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलनमा भ्रमण गर्नेको भीडभाड छ। तर काभ्रेको पनौती नगरपालिकास्थित देशकै ठूलो सूचना प्रविधि(आईटी) पार्कमा भने सूचना प्रविधिले कुनै रौनक ल्याएको छैन। सम्बन्धित निकायको बेवास्ताका कारण सूचना प्रविधि (आईटी) पार्क प्रयोगमै नआई जीर्ण बनन थालेको छ। काठमाडौंमा हरेक वर्ष कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)ले मेला गरे पनि पार्कको उपयोगिताबारे क्यानले पनि चासो नदिएको स्थानीयको गुनासो छ।
आईटी पार्कको उद्घाटन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री नेपापले राजनीतिक अस्थिरता, नीतिगत तथा समन्वयको समस्या, व्यवस्थित इन्टरनेट सेवा अभाव, दक्ष जनशक्ति तथा साधन–स्रोतको अभावका कारण आइटी पार्क सञ्चालनमा ढिला भएको बताएका थिए। आईटी पार्क नियमित सञ्चालनका लागि सरकारले सम्पूर्ण तयारी गरेको उनले बताएका थिए। सूचना प्रविधि क्षेत्रका एक सय ४४ इन्जिनियरले रोजगारी पाउने गरी पार्क स्थापना भएको थियो। सूचना प्रविधिसम्बन्धी काम गर्ने उद्देश्यले ३० करोड रुपैयाँभन्दा बढी खर्चेर बनाइएको आईटी पार्क ‘भूत बंगला’मा परिणत हुने अवस्थामा छ। आईटी पार्क भवनमा राजनीतिक दल र सामाजिक संघसंस्थाले कार्यक्रम गर्न थालेपछि कतिपयले विवाह भोजका लागिसमेत माग्न थालेको पार्कका एक कर्मचारीले बताए। नयाँपत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया