ललितपुर। गत जनवरी ३ मा भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न गरिएको अमेरिकी आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको त्यहाँका गृहमन्त्रीले बताएका छन् ।
भेनुजुएली स्थानीय समय अनुसार जनवरी ३ का दिन बिहानको २ बजे भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो ।
भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले बुधबार राति भने, “अहिलेसम्म १०० जनाको मृत्यु भएको छ । लगभग यति नै संख्यामा घाइते पनि छन् ।”
काबेलोले अगाडि भने, “संघर्षसँग असम्बन्धित नागरिक, घरभित्र रहेका महिला, शक्तिशाली बमको प्रभावमा मारिएका छन् ।”
क्युबा सरकारले आइतबार जारी गरेको वक्तव्यमा उक्त ‘अपरेसन’का क्रममा ३२ क्युबाली नागरिक मारिएको उल्लेख थियो, जो क्युबा सशस्त्र बल र गृह मन्त्रालयका तर्फबाट काम गरिरहेका थिए ।
ती ३२ जना यो १०० को संख्यामा समावेश छन् वा छैनन् भन्ने विषयमा काबेलोले स्पष्ट पारेनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको बताएका थिए । तर, आक्रमणका क्रममा हेलिकोप्टरमा प्रहार गरिँदा केही सैनिक घाइते भएका उनले स्वीकार गरेका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया