भोजपुर सदरमुकाम आउने तथा जाने यात्रु मारमा
काठमाडौँ २३ साउन
भोजपुर- भोजपुर जिल्ला सदरमुकाम जोड्ने शाखा सडकहरु सञ्चालन नहुँदा भोजपुर सदरमुकाम आउने तथा जाने यात्रु मारमा परेका छन्।भोजपुर–घारेटार सडकखण्ड नियमित सञ्चालन गर्ने जिम्मा पाएको एसएन आरटिपीले सडक मर्मत गर्न पर्याप्त हेरालु राखेको भए तापनि हेरालुले सन्तोषजनक काम नगर्दा यातायात सञ्चालन हुन नसकेको हो।
भोजपुर नगरपालिका र मानेभञ्ज्याङ गाविस बीचमा पिखुवा खोला रहेको र वर्षात्को बाढीका कारण पिखुवा खोलामा यातायातका साधन तार्न नसक्दा सवारी साधन सञ्चालनमा समस्या भएको हो।
मानेभञ्ज्याङ, रानीवास, होम्ताङ, खैराङ, सिन्द्राङ, हसनपुर र पात्लेपानीलगायतका १३ गाविसलाई जोड्ने भोजपुर–घोडेटार सडक सञ्चालनमा सम्बन्धित पक्षको ध्यान नपुग्दा यातायात सञ्चालनमा समस्या झेल्नुपरेको रानीवासका स्थानीयवासी ज्ञानबहादुर राईले बताए।
यता जिल्लाको प्रसिद्ध दिङ्ला बजार जोड्ने भोजपुर–दिङ्ला सडक र खोटाङ जोड्ने भोजपुर–चखेवा सडक सञ्चालनमा समेत सरोकारवालाको ध्यान नपुग्दा जिल्ला सदरमुकाम आवातजावतमा समस्या भएको छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया