मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ

हेटौँडा, २४ माघ

मकवानपुरगढी गाउँपालिकाको रानीसेरामा रानीवास एग्रो टुरिजम पार्क निर्माण प्रारम्भ गरिएको छ । कृषि उत्पादनमा वृद्धि र उत्पादनको विस्तारसँगै कृषि पर्यटन भित्र्याउने उद्देश्यसहित एग्रो टुरिजम पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिनुभयो । कूल रु छ करोड ५० लाख लागतमा निर्माण हुने पार्क कृषि क्षेत्रमा रुचि राख्ने सम्पूर्ण नेपालीको आकर्षणको केन्द्र हुने तथा नेपाली कृषिको नमूना पार्क र अध्ययन केन्द्रसमेत रहने उहाँको भनाइ छ । पार्क निर्माणले कृषि क्षेत्रप्रति आकर्षण बढ्ने तथा ग्रामीण क्षेत्रबाट भइरहेको जनशक्ति पलायनसमेत रोकिने उहाँले बताउनुभयो ।
पार्क निर्माणस्थल निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्गको नजिक रहेकाले यहाँ नेपालीमात्र हैन भारतीय पर्यटक पनि आकर्षित हुने गरी विभिन्न किसिमका फलफूल तथा पुष्पपार्क निर्माण गरी स्थानीय उत्पादनको वृद्धि गराउने उद्देश्य रहेको अध्यक्ष हुमागाईंले जानकारी दिनुभयो । विगतमा ठूलो बस्ती भए पनि पानीको समस्याका कारण बस्ती खाली भएको अति सुन्दर स्थान हो रानी सेरा । “यहाँ हामी खानेपानीलगायत सम्पूर्ण आवश्यकीय कुराको पूर्ति गरेर काम गर्छौं”, उहाँले भन्नुभयो ।
भौगोलिक विकटताका कारण विकासमा पछि परेको गढीको १ नम्बर वडा पार्क निर्माणपछि भने पर्यटन तथा उत्पादनसमेत बढाएर विकासमा अगाडि बढाउँदै लाने सोच रहेको वडाध्यक्ष आइतसिंह लोले बताउनुभयो । मकवानपुरगढीको जतिनै उचाइ रहेकाले जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानको मनोरम दृश्य अवलोकनसमेत गर्न सकिने उहाँको भनाइ छ । उहाँले पार्क व्यवस्थित गरेसँगै घरवासमार्फत गढीमै उत्पादित खाद्य तथा अन्य चिजबिजले अतिथिलाई स्वागत गरिने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया