मदन र वीरेन्द्रका हत्यारालाई कहिले पक्रने ?

सुरेन्द्र ढकाल

भारतले पाकिस्तान विखण्डन गरी बंगलादेश बनायो, सिक्किमको स्वतन्त्रतालाई निलेर भारतमा विलय गरायो । अब उचित कदम नचाल्ने हो भने नेपालको अस्तित्व छैन भनेर नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने प्रस्ताव राख्ने अनि विश्वका ११६ देशहरुबाट यस प्रस्तावको पक्षका समर्थन बटुल्न सक्ने राजा वीरेन्द्रबाट नराम्ररी झस्कियो भारत ।

यस पंक्तिका लेखक तथा तत्कालिन रंगमंच पत्रिकाको सम्पादकलाई अन्तर्वार्ता दिँदै तत्कालिन एमालेका महासचिव मदन भण्डारीले टिस्टा काँगडाको भूमि नेपालको हो । यद्यपि हामी २०० वर्षदेखि अलग छौं, ग्रेटर नेपाल बनाउने हो भने जनमत लिने प्रकृयाबाट निर्णय लिन सकिन्छ भनेपछि एमाले भित्रका रअका एजेन्टहरु आतंकित भएका थिए ।

सुगौली सन्धिपछि नेपालमा जति सरकार बने तिनीहरु जनताका अगाडि जाँदा राष्ट्रवादी भई टोपल्ने अनि दक्षिणको अगाडि जाँदा लम्पसार पर्ने प्रवृत्ति देखियो । यो प्रवृत्तिको विरोध गर्दा भीमसेन थापा र माथवरसिंह थापा मारिए, कोतपर्व भण्डारखाल पर्व रचेर सम्पूर्ण राष्ट्रवादी भारदारलाई कत्तल गरी दक्षिणलाई रिझाइ नेपालमा शासन गर्ने संस्कार बस्यो । जंगबहादुर मात्रै एक यस्तो निस्किए जसले ब्रिटिसलाई रिझाएर भए पनि नयाँ मुलुक (हालको बाके वर्दिया कैलाली कंचनपुर) फिर्ता लिए । पूर्ण लम्पसारवाद अँगालेनन् ।

जंगबहादुरका छोराहरु अनि रणोद्दिपलाई मारेर वीरशमशेरले लम्पसारवादको फर्मूला निकाले । यिनैको पालादेखि राष्ट्रघाती गोर्खा भर्तिकेन्द्र खुल्यो । आँखा चिम्लेर ब्रिटिसको पक्षमा नेपालले प्रथम र द्वितीय विश्वयुद्ध लड्यो । नेपाल तिब्बतको परम्परादेखि चलिआएको ब्यापारलाई यंग हस्वेण्ड मिसन बोलाइ चन्द्र शम्शेरले ब्रिटिसको पोल्टामा हालिदिए जस्को सट्टामा बेलायत सरकारले नेपालको राजालाई हिज मेजेष्टी भन्न थाल्यो । राष्ट्रवाद वस्तु विनिमय गर्ने अनि आफ्नो सत्ता टिकाउने अस्त्र बन्यो । त्यही अस्त्र राजा त्रिभुवनले राणालाई फ्याल्न प्रयोग गरे, त्यही अस्त्र महेन्द्रले विपिलाई सिध्याउन प्रयोग गरे, अनि त्यही अस्त्र कांगेस्र र बामले पंचायत फाल्न प्रयोग गरे अनि फेरि त्यही अस्त्र माओवादी, कांग्रेस र एमालेहरुले राजतन्त्र फाली गणतन्त्र, धर्म निरपेक्षता, संघीयता ल्याउन प्रयोग गरे, ६३ लाख भारतीयहरुलाई नेपाली नागरिकता प्रदान गर्न प्रयोग गरे । अहिले त्यही अस्त्र एमाले माकेको समर्थनमा आप्रवासी भारतीयहरु नेपाल विखण्डन गर्न प्रयोग गर्दैछन भने मदन भण्डारीको हत्यारा को रहेछ, वीरेन्द्रको वंश विनाश गर्ने को रहेछ, अनि अहिले आएर जनकपुर भारतमा गाभ्नुपर्छ भन्न को रहेछ भन्ने स्पष्ट भयो कि भएन ?

कथनीको राष्ट्रवाद र करणीको राष्ट्रवाद अब नेपाली जनताले छुट्याउने दिन आएको छ । भीमसेन थापादेखि मदन भण्डारी हत्या र वीरेन्द्र वंश विनाससम्म आउँदा कति सच्चा राष्ट्रवादीहरुको दक्षिणले कत्तल ग¥यो भन्ने लेखाजोखा गर्ने दिन आएको छ । अब पनि नेपाली जनताले रअका एजेन्टहरुको राष्ट्रवादको नारामा भुलेर मत दिने हो भने के गति हुँदो रहेछ भनेर लेखाजोखा गर्ने कि नगर्ने ? मोदीले किन नाकाबन्दी गरेकोमा माफ मागेनन् ? किनकी त्यो नाकाबन्दी गराउने मोदी नभै उनका एजेन्टहरु नै थिए भनेर राजेन्द्र महतो आफैले स्वीकार गरिसकेको अवस्था छ ।
मोदीले किन नेपालको सार्वभौमिक अखण्डतालाई चुनौति दिँदै आफूसँग भारतीय सैनिक नेपाल ल्याए, किन मुस्ताङ जस्तो सामरिक महत्वको स्थलमा उनीहरुलाई लगियो ? किनकी व्यवहारमा भारत नेपाललाई स्वतन्त्र देश मान्दैन र हिमाललाई उसले आफ्नो उत्तरी सीमा मान्छ । यसपटकको मोदीको भ्रमणमा भएका ब्यवहारले यो पुष्टी गरेको परिप्रेक्ष्यमा ओलीको
राष्ट्रवाद परम्परावादी लम्पसारवादको अर्को एक कडी बन्न पुग्यो । मोदीलाई कालो झण्डा देखाउने अनि देखाउन सक्ने सबैलाई कसको आदेशमा खोरमा लगियो ? जनकपुरमा भारतीय सैनिकको परेड कस्को निर्देशनमा भयो ? हिजो भारतमा नेपालको राजाले भ्रमण गर्दा कालो झण्डा देखाउने बाबुरामले किन सोध्दैनन् यो प्रश्न ? किनकी उनी पनि त्यही ड्याङका मुला हुन् जनताको अगाडि जाँदा भारतसँग बंकर युद्ध गर्ने अनि भारतीय प्रभुको अगाडि लम्पसार पर्ने प्रचण्डका मतियार । यिनीहरु सच्चा राष्ट्रवादी हुन्थे भने सायद रअले यिनीहरुलाई मदन र वीरेन्द्रलाई जस्तै पहिले ठेगान लगाइ सकेको हुन्थ्यो । न त माओवादी जनयुद्ध नै सफल हुन्थ्यो, न वैद्य र विप्लवले पार्टी छोडन पथ्र्यो । यी नेपालका सत्तामा कसरी आए भन्दा जसरी भारतको गुलामी गर्नेहरु विगतमा आए त्यसरी नै आए भन्ने बुझिन्छ । अब यो कुरा राष्ट्रवादी नेपाली मतदाताले कहिले बुझ्ने ? मदन र वीरेन्द्रका हत्याराहरुलाई कहिले गिड्ने ? हरेक वर्ष आउने
जेठ महिनाले आम नेपालीलाई सोध्ने प्रश्न यही हो ।

(लेखक नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति : २०७५–२–६ 

फेसबुकबाट तपाईको प्रतिक्रिया