मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ २,  पुस २०७९।

लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो ।

बेँसीसहर नगरपालिका–१, दलालस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा कुल क्षमताभन्दा करिब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यति बेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताए ।
उनले भने, “एक महिनाअघिसम्म नदीको पानी बढी भएर खेर जान्थ्यो । तर, अहिले सबै पानी प्रयोग गरे पनि उत्पादन घटिरहेको छ ।” अझै दुई महिनासम्म निरन्तर बिजुली उत्पादन घट्दै जाने उनको भनाइ छ ।

यहाँ ३५/३५ मेगावाट क्षमताका दुईवटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो । आउँदो फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । विगतको वर्षहरूमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।
सन् २००० मा निर्माणकार्य सुरु भई सन् २००८ मा निर्माणकार्य सम्पन्न भएलगत्तै आयोजनाबाट विद्युत् उत्पादन थालिएको थियो । २७ अर्ब २० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको थियो ।

यसबाहेक जिल्लामा विद्युत् उत्पादन थालेका करिब आधा दर्जन आयोजनाहरूमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ । मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि अब भने घट्ने क्रममा रहेको आयोजनाले जनाएको छ ।

यस्तै, २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया