मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

काठमाडौं २७ फागुन २०७८।।

होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदनले डिस्को–क्लब, पप तथा लाइभ बार, डान्स, दोहोरी र गजललगायतलाई पर्यटनमूलक व्यवसायमा राखेको छ । सामान्य अवस्थामा चौबीसै घण्टा सञ्चालनको वातावरण मिलाउन निर्देशन भएको प्रवक्ता पोखरेलले बताए।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रहरी, व्यवसायी र पेसाकर्मीसँग समन्वय गरी शान्तिपूर्ण र सुरक्षित ढङ्गले सञ्चालनको वातावरण मिलाउनु पर्नेछ । सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकूल नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया