मर्स्याङ्दी नदी जलविद्युत्मा लगानी जुट्यो
काठमाण्डौ १९ माघ २०८१
मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्न लागेको ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानी सम्झौता भएको छ ।
शुक्रबार सम्पन्न उक्त सम्झौतामा एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा ऋण सम्झौता गरेका छन् ।
उक्त आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड लगायतका संस्थाहरूले लगानी गर्नेछन् । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको सहभागिता रहनेछ भने डोल्मा इम्प्याक्ट फन्डले ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न आवश्यक ड्यु डिलिजेन्स स्टडी अघि बढाएको छ ।
यसै समूहअन्तर्गत सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ ।
Advertisement
उक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते सम्पन्न भइसकेको छ । व्यापारिक उत्पादन सुरु गर्ने मिति २०८६ साल वैशाख २२ तोकिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सम्बन्धित निकायमा पेस गरिएको छ । आयोजना मार्फत उत्पादित विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०/१३२ केभी क्षमतामा जोडिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया