महायज्ञको नाममा दलितको उठिबास

सिराहा, ७ चैत, २०८१ । सिराहाको औराही गाउँपालिका–५ मा यही चैत १७ गतेबाट विष्णु महायज्ञ गर्ने भन्दै त्यहाँ विगत २५ वर्षदेखि बसोबास गर्दै आइरहेका दलित डोम परिवारको घर भत्काइएको छ ।

पुर्व माओवादी तथा अहिलेको जसपा नेता, औरही पालिका, सिराहाका अध्यक्ष शिवजी यादवले महायज्ञ लगाउने भन्दै एकजना दलितको घर भत्काइदिएका छन् । गाउँपालिका अध्यक्ष यादवले पालिकाकै जेसीभी प्रयोग गरी गत फागुन १० गते दलित डोम परिवारको घर भत्काएका हुन् ।

घर भत्काइसकेपछि डोम बसेको स्थान महायज्ञको लागि अशुभ हुने भन्दै घर भएको ठाउँको दुई फिट माटो समेत खनेर फ्याकिदिएका थिए।

धर्मको नामका यसरी अछुत भन्दै घर भत्काएपछि दलित परिवारलाई पालिका अध्यक्षले पालिकाकै एउटा कुनामा श्री सुन्दर जनता माध्यमिक विद्यालको २ धुर जग्गामा तीन कोठाको छाप्रो बनाइदिएका छन् । तर त्यहाँ पानी र बिजुली नहुँदा डोम परिवारको दैनिकी निकै कष्टकर तरिकाले बितिरहेको छ ।

महायज्ञ गर्न आएका बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले पालिकाकै जेसीभी प्रयोग गरी घर भत्काएको समाचारहरु बाहिर आउन थालेपछि पीडित परिवारलाई धम्की आउन थालेको जानकारी प्राप्त भएको छ । फागुन १० गते नै घर भत्काइए पनि हिजो मात्र पीडितको गुनासो मिडिया समक्ष आएको हो । मिडियामा यस्ता किसिमका समाचारहरु आउन थालेपछि पीडित परिवारलाई बन्द कोठाभित्र थुनेर यो स्थानमा महायज्ञ लाग्दै गरेकोले आफूहरु स्वेच्छाले घर छोडेको भन्न लगाइएको कुराहरु पनि बाहिर आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया