महायज्ञमा दुई करोड ७८ लाखभन्दा बढी रकम सङ्कलन

काठमाडौँ ३ मंसिर

म्याग्दी-म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा दुई करोड ७८ लाखभन्दा बढी रकम सङ्कलन भएको छ।  क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले सप्ताहव्यापी रुपमा आयोजित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा कुल दुई करोड ७८ लाख ४९ हजार तीन सय दुई आर्थिक सङ्कलन गरिएको महायज्ञका लेखा व्यवस्थापन उपसमितिका संयोजक कृष्णबहादुर थापाले जानकारी दिए।  उनका अनुसार महायज्ञको अन्तिम दिन बिहीबार मात्रै ५६ लाख ८७ हजार सात सय पाँच दान सहयोग सङ्कलन भएको थियो।

उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञमा प्रमुख कथावाचक पण्डित दीनबन्धु पोखरेल र सहवाचक ध्रुवशरण बस्यालले कथावाचन गरेका थिए।  जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएपछि स्वदेश तथा विदेशमा रहेका जिल्लावासीले उत्साहित हुँदै सहयोग गरेका छन्।  यसैबीच, गत कात्तिक २५ गतेदेखि सुरु गरिएको उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञ बिहीबार समापन गरिएको छ। कार्यक्रममा कथावाचन गर्ने पण्डित पोख्रेल लगायतको समूहलाई जिल्ला न्यायाधीश रामप्रसाद शर्माले सम्मान गरेका थिए।  महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले धन्यवाद दिँदै महायज्ञबाट सङ्कलन भएको दान सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया