महालक्ष्मीको कारोवार शुभराम्भ, आकर्षक विमा योजना घोषणा
माघ २५ विजनेशपाटी
नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले यही २०७५ माघ २७ गते आइतबार वसन्त पञ्चमीको दिनबाट विधिवत् रुपमा कारोबार संचालन गर्न भएको छ । महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ । दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ । तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ ।
कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साता भित्र कारोबार संचालनको तैयारीमा छ । कार्यालय सजावट सकिए लगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक समुद्घाटनको तैयारी भइरहेको छ ।
कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योेजना रहेको छ । २०७६ आषाढ भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने छ ।
कम्पनीकोे चुक्ता पूँजी २०० करोड मध्ये संस्थापकहरुबाट १४० करोड चुक्ता भइसकेको र ६० करोड सर्वसाधारणको लागि छुट्याइएको, कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र सञ्चालकहरू उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा रहनु भएको छ । यस कम्पनीकोे कारोबारको पूनर्बीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूनर्बीमा नेपाल री सँग रहने छ ।
कम्पनीले आगामी आषाढ मसान्त सम्म ५ महिनामा करीब ५० करोड बीमाशुल्क संकलन गर्ने छ । २ वर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरू मध्ये पहिलो बन्नृ ५ वर्ष भित्र सम्पूर्ण जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी हुने लक्ष्य राखेको कम्पनीको कार्यकारी प्रमुख रमेशकुमार भट्टराईद्धारा माघ २४ गते जारी विज्ञाप्तिमा जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया