महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १३ फागुन । भोलि पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिएका छन् ।
उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई÷दुई वटा लाइन रहने जानकारी दिए । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे । उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।
सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया