माओवादीहरूको धमाधम ध्रुवीकरण : भट्टराई गैरमाओवादीसँग मोर्चाबन्दी गर्दै

काठमाडौं २० पौष

पहिलो संविधानसभा विघटन भएयता आधा दर्जनभन्दा बढी चिरामा टुक्रिएका माओवादी पार्टीहरूबीच ध्रुवीकरण सुरु भएको छ । फुटयताका चार वर्षमा पार्टी शक्तिको उल्लेख्य क्षय भएपछि उनीहरूले विचार मिल्ने माओवादी र कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी थालेका छन् । पछिल्लो मोर्चा कस्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र उनीबाटै फुटेर गएका नेत्रविक्रम चन्दको नेकपा माओवादी छन् ।

राजधानीमा शनिबार कार्यक्रम गर्दै उनीहरूले साझा मुद्दामा एक भएर जाने घोषणा गरे । यो खबर आजको कान्तिपुरमा छ ।

‘जलस्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनता’ शीर्षकको अन्तक्र्रियामा दुई माओवादीसहित नेकपा मसालसमेत सहभागी थिए । वैद्य, चन्द र मसाल नेता रामसिंह श्रीशले माओवादीहरू कमजोर हुँदा राष्ट्रियता र जनजीविकाका मुद्दासमेत ओझेल पर्दै गएको भन्दै भ्रष्टाचार, महँगी, कालोबजारी र राष्ट्रिय स्वाधीनताका विषयमा सँगै लड्ने उद्घोष मात्रै गरेनन्, अब कार्यगत एकतालाई राजनीतिक विषयमा प्रवेश गराउनेसमेत बताए ।

‘अहिले जनजीविका र राष्ट्रियताको विषयमा कार्यगत एकता हुन्छ, जाने चाहिँ अन्तत: राजनीतिक विषयमै हो,’ विप्लव माओवादीका नेता गुणराज लोहनीले भने, ‘मिल्ने मुद्दामा सँगै जान नेता प्रतिबद्ध हुनुहुन्छ ।’
विप्लव माओवादीसँग कार्यगत एकता गर्नेबारे ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना माओवादी घटकहरूसँग कुराकानी भइरहेको छ । राष्ट्रियताको विषयमा सीपी मैनाली नेतृत्वको नेकपा माले र नेमकिपासँग पनि कुराकानी भइरहेको माओवादी नेताहरूले बताए । यसअघि गत पुस ५ गते वैद्य, चन्द र मसाल महामन्त्री मोहनविक्रम सिंहले यिनै मुद्दामाथि मोर्चाबन्दी गर्दै संयुक्त वक्तव्य नै जारी गरेका थिए ।

यसै वर्ष जेठ ६ गते तत्कालीन एकीकृत नेकपा माओवादीको पहलमा १० ठूला साना माओवादी धारा मिलाउँदै नेकपा माओवादी केन्द्र घोषणा भएको थियो ।

अघिल्लो वर्ष माओवादीबाटै छुटेर नयाँ शक्ति पार्टी खोलेका बाबुराम भट्टराईले पनि ध्रुवीकरणको प्रयास गरिरहेका छन् । उनको चासो भने गैरमाओवादी घटकहरूतिर छ । उनले फोरम र तमलोपाबाहेक राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीसँग पनि संवाद बढाएको नयाँ शक्ति पार्टी स्रोतले बतायो ।

गत मंसिर ३० गते तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेटी भट्टराईले ठूला तीन दल तीनवटा ध्रुवमा उभिएको भन्दै नयाँ शक्ति र मधेसी मोर्चा मिलेर अब ‘चौथो ध्रुव’ बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

उनले फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरीलगायत विभिन्न मधेसवादी पार्टीका नेतालाई दुई साताअघि नयाँ शक्तिमा प्रवेश गराए ।

भट्टराई स्वयंले संघीय समाजवादी फोरम, रामसपालगायत मधेसवादी पार्टीसँग मोर्चाबन्दी गर्ने उनको तयारी अन्तत: पार्टी एकतासम्म पुग्ने यसअघि नै बताइसकेका छन् । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग मिलेर गत मंसिर १३ गते संयुक्त विज्ञप्ति जारी गर्दै भट्टराईले पहिचानको मान्यता, अधिकारसहितको संघीयता, समानुपातिक प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचित राष्ट्रपति जस्ता विषयमा साझा धारणा खोजी गर्दै संविधान संशोधन गर्नुपर्ने मत राखेका थिए ।

कमजोरहरूको पुनरोदय प्रयास : गौतम
नेपालको कम्युनिस्ट आन्दोलनमाथि क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका अनुसन्धानकर्ता भास्कर गौतम पछिल्लो माओवादी ध्रुवीकरणलाई सैद्धान्तिक कारणबाट नभई कमजोरहरूको पुनरोदय प्रयास भनी अथ्र्याउँछन् । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष दाहालले नरमपन्थी मध्यधार, वैद्य र चन्दले कट्टरपन्थी देब्रे धार, अनि भट्टराईले उदारवादी दाहिने धार ध्रुवीकृत गरिरहेको उनको विश्लेषण छ । ‘यो ध्रुवीकरणको कुनै सैद्धान्तिक जग छैन, आगामी चुनावका लागि शक्ति आर्जन गर्ने रणनीतिक तयारी हो,’ गौतमले भने, ‘माओवादी रक्षात्मक बन्दै गएकाले अब कुनै ठूलो शक्तिसँग मर्ज हुने भए पनि आफूभन्दा साना ढिक्का जोड्न उनीहरू प्रयासरत छन् । यो ध्रुवीकरणमा आन्दोलन गर्ने र चुनाव हार्ने दुवै संगठित भएको देखियो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया