माओवादी केन्द्र राष्ट्रियताबारे लड्ने वा आत्मसमर्पण गर्ने विन्दुमा छः बादल

काठमाडौं १३ भदौ ।
नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ ले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन् ।
विदेशी दलालले सिधै आफैं नआई देशभित्रैबाट दलाल खडा गरेर विकासोन्मुख मुलुकहरुमा शासनसत्ता चलाउँदै आइरहेको बताउँदै त्यस्ता दलाललहरुलाई परास्त गर्नुको विकल्प पार्टीसँग नरहेको बताए ।
सरकारको नेतृत्व गरिरहँदा पनि माओवादी केन्द्रसामु राष्ट्रियताबारे लड्ने कि आत्मसमर्पण गर्ने ? भन्ने विषय मुख्य चुनौति बनेर देखा परेको उनले बताए । माओवादी केन्द्र सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धिसम्झौताको चाङ लागेको उनले भने ‘यो सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सकिन्छ कि सकिँदैन ? पार्टीसामू ठूलो चुनौति आएको छ ।’
राजधानीको संवाद डबलीमा सोमबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय समितिले आयोजना गरेको ‘बहिर्गमित जनमुक्ति सेना र हाम्रो मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बादलले सो भनाई राखेका हुुन् ।
उनले जनयुद्धमा तत्कालीन शाही सेनालाई चुनौती दिँदै राजतन्त्र हटाउन सफल थुप्रै जनमुक्ति सेनालाई अयोग्यको संज्ञा दिएर समायोजनबाट बाहिर पठाएर राज्यले अपराध गरेको बताए ।
बहिर्गमित जनमुक्ति सेना क्रान्तिबाट आएको पूर्वजनसेना भएको र यो सामान्य सेना नभएको बताउँदै उनले भने ‘अरु सेनाभन्दा क्रान्तिकारी सेना पृथक छन् । त्यही बुझेर माओवादी केन्द्र सडक, सदन र सरकार हात हालेको छ । अब परिस्थिति प्रतिक्रियावादीहरुले सोचेजस्तो हुँदैन ।’ बहिर्गमनमा पारिएका जनमुक्ति सेनाको अधिकार र उसले गर्ने संघर्षबारे पार्टीले सोचिसकेको उनले बताए ।
पूर्वजनमुक्ति सेनाले जनताको अधिकारको लागि पुनः संघर्षमा जानुपर्ने दिन टाढा नरहेको भन्दै पार्टीले यसबारे ठोस कार्यक्रम ल्याउन लागेको बताए ।
अर्को प्रसंगमा नेता बादलले काठमाडौं–तराई फाष्ट ट्रयाक, अपर कर्णाली र राष्ट्रिय सुरक्षामा विदेशी स्वार्थमा प्रस्तावहरु आइरहेको बताए । सत्ताको नेतत्व गरिरहेका माओवादी केन्द्रका प्रभावशाली नेता मानिने बादलले भने ‘हाम्रो पार्टी राष्ट्रियता, जनअधिकार र जनजीविकाको मुद्दामा मनोगत र विचलित भएको कुरा साँचो हो । यी विषय जनताका शत्रु हुन् । यो अवस्था चिर्न पार्टीले सरकारको नेतृत्व गरेको हो । कसैले भर्याङ हालिदिएर पुगेको होइन ।’
सरकारको नेतृत्वलाई माओवादी केन्द्रले अवसरमा बदल्न सक्नुको विकल्प नरहेको बताउँदै बादलले नेतृत्वलाई अवसरको रुपमा परिणत गर्न नसके देश अस्थिरतामा जाने खतरा रहेको औल्याए ।
‘देश विकास नहुनुमा भारत, अमेरिका, युरोप वा अरु कुनै दोषी होइनन्, देशभित्रका दलाल र कर्मचारीतन्त्र दोषी हुन्’ नेता बादलले भने ‘यही तत्वलाई परास्त गर्न युवाहरुले ठीक दिशा पक्रेर संघर्षमा जानुपर्छ ।’ शक्ति स्वार्थकै कारण कार्यपालिका र न्यायपालिकाबीच एकरुपता आउन नसकेको उनको भनाई छ ।
पूर्ववत् ओली सरकारको पालामा बहिर्गमनमा परेका पूर्वजनमुक्ति सेनालाई जनही दुई लाख रुपैयाँ रकम दिने भनी गरिएको मन्त्रिपरिष्द निर्णयलाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिष्दले त्यसैलाई निरन्तर दिने गरी दुई हप्ताअघि निर्णय गरेको थियो । सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले हालै मात्र रकम नदिन आदेश जारी गर्दै भदौ १५ मा रिट र सरकार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चको आदेशप्रति बहिर्गमित जनमुक्ति सेनाले विरोध गर्दै आइरहेको छ ।
कार्यक्रममा बौद्धिक मञ्चका महासचिव प्रा.डा सुरेन्द्र केसीले जनताको अधिकारका लागि युद्ध लडेर आएका युवाहरुलाई रकमसँग जोड्न नहुने बताउँदै उत्पादनसँग जोड्न सरकारसँग आग्रह गरे ।
‘क्रान्ति गरेर आएको माओवादी सत्तालिप्स भएकैले युवाहरु निरास र निकम्मामा परिणत हुने खतरा बढेर गएको छ’ प्रा.डाले भने ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बहिर्गमित जनमुक्ति सेनालाई राज्यले अपमान र बेवास्ता गरे परिणाम राम्रो नहुने बताए । बहिर्गमित जनमुक्ति सेनाप्रति राज्यका सम्पूर्ण अंग सकारात्मक हुन आग्रह गरे ।
दलबहादुर बिसी, प्रकाश रोकाया, महेन्द्र शर्मा, नारायण ढकाल, माधव थापा, उमेश घोरासाइनी, अर्जुन बुढाथोकी, शिव लगायतको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया