माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयर भदौ १८ गतेदेखि खुला हुने

काठमाडौं ०१ भदौ २०८०।

दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिने भएको छ ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले आज सूचना जारी गर्दै १ः१ को अनुपात अर्थात विद्यमान १ कित्ता साधारण सेयरका दरले सेयरधनीका लागि आगामी भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन खुल्ला गरेको जनाएको छ । यो सँगै अब भदौ १८ गतेदेखि असोज ७ गतेसम्म हकप्रद सेयरको लागि आवेदन दिन सकिनेछ ।
कम्पनीबाट प्रतिसाधारण सेयर सय अङ्कित दरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन हुनेछ । कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयर निष्काशन गर्न लागेको हो । गत वर्ष २०७९ साल भदौ ३ गते बसेको १४औँ साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड बराबरको प्रतिसेयर रकम सय अङ्कित दरको १० करोड ५९ लाख कित्ता साधारण सेयरको हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया