माधव नेपालले भने “चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द हुन नदिन सरकारले पहल गर्नुपर्छ”

सिताराम पौडेल

रौतहट २२ भदौ ।

एमाले नेता माधव नेपालले राजनितिक भागवण्डाले देशमा विकासका काम हुन नसकेको बताएका छन् । विकासको मुद्दामा राजनितिक दलहरु पार्टी स्वार्थभन्दा माथि उठेर एक जुट हुनुपर्नेमा जोड  उनले दिए । जापानको सहयोगमो गंगापिप्रामा निर्माण गरिएको नेपाल जापान मैत्री सामुदायिक भवनको उदघाटन गर्दै नेता नेपालले विकासका लागि सबै दलबीच सहकार्य हुन जरुरी रहेको बताए ।

जापान सरकारको ९७ लाख र जनश्रमदानबाट जुटाइएको झण्डै २४ लाख रुपैयाँ गरी कुल एक करोड २१ लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको नेता नेपाल र जापानी राजदूत मासासी ओगावाले उदघाटन गरेका छन् ।

नेता नेपालले छिमेकीहरुको सहयोगले नेपालका विभिन्न आयोजनाहरु सम्पन्न भएको स्मरण गर्दै आगामी दिनमा पनि जापानको सहयोगको रौतहटवासीले अपेक्षा गरेको बताए । चिनियाँ राष्ट्रपतिको सी जिङपिङको नेपाल भ्रमण स्थगन भएको खबर सुनेको भन्दै उनले यो दुखद भएको बताए । भ्रमणका बारेमा आधिकारिक जानकारी आफूलाई नभएको तर, भ्रमण रद्द हुन नदिन सरकारले पहल गर्नु पर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया