मानव जाति लोप हुनसक्ने हकिंग्सको यस्तो चेतावनी

बिजनेसपाटी ३ मंसिर

‘मानवजातिले आफ्नो अस्तित्व बचाउने हो भने आगामी एक हजार वर्ष भित्र पृथ्वी जस्तै अर्को वासस्थान खोज्नु पर्नेछ,’ यस्तो दाबी गर्ने व्यक्ति कुनै ज्योतिषी नभई चर्चित भौतिकशास्त्री स्टेफेन हकिंग्स हुन्।

मानवजातिले जुन तिब्र गतिमा पृथ्वीमा रहेका स्रोतको प्रयोग र उपभोग गर्दैछ त्यसले संकट झनै तिब्र गतिले नजिकिएको हकिंग्सले बताएका छन्।

मानवजाति निरन्तर बाँच्ने हो भने उनीहरुले गर्नुपर्ने काम र त्यसका डेडलाइन पनि हकिंग्स तोकेका छन्– आगामी एक हजार वर्ष भित्र पृथ्वी जस्तै अन्य ग्रहमा मानव बस्ती बसाउने।

तर मानिस केवल पृथ्वीमा मात्र बस्ने हो भने त्यसले मानवजाति नै लोप हुने खतरा हुनेछ।

‘हामीले मानवजातीको भविष्यका लागि स्पेसको अन्वेषण गर्नुपर्छ,’ ७४ वर्षीय वैज्ञानिक हकिंग्सले अक्सफोर्ड विश्वविद्यालयमा गरेको भाषणमा भने, ‘वासस्थान लागि पृथ्वीको विकल्पमा अर्को स्थान नखोजिकन मलाई लाग्दैन कि हामी मानवजाति अर्को एक हजार वर्ष भन्दा बढी बाँच्छौँ।’

एक घण्टा आफ्नो भाषणमा उनले पृथ्वीको उत्पति, आइन्स्टाइनको सापेक्षवादको सिद्धान्त, पृथ्वी उत्पत्तिका कथा र भगवानबारे पनि चर्चा गरेका थिए।

भविष्यमा मानवजातिका लागि निकै ठूला चुनौती भए पनि अहिले पृथ्वीमा बाँच्नु र सैधान्तिक भौतिकशास्त्रमा अनुसन्धान गर्नु गौरवपूर्ण कुरा भएको उनले बताए।

‘हामीले बुझ्ने गरेको ब्रह्माण्डको तस्विर विगत ५० वर्षमा निकै बदलिएको छ। त्यसमा मैले थोरै मात्र योगदान गरेँ भने पनि मलाई खुसी लाग्छ,’ उनले भने।

कार्यक्रममा सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने – हामीले पृथ्वीलाई बाहेक अन्य स्थानमा बस्ती बसाउनु नै मानवजाति बचाउने सबैभन्दा उत्तम विकल्प हो।

‘एकै पटक कुनै वर्ष पृथ्वीमा दुर्घटना हुने भन्दा पनि, दुर्घटनाको कारकतत्व बढ्दै जान्छ र आगामी एक हजार वा दस हजार वर्षमा त्यस्तो दुर्घटना हुनु लगभग निश्चित हुन्छ,’ उनले भने – ‘त्यस समयसम्म हामीले अर्को स्थान वा तारामा फैलिसक्नुपर्छ ताकी पृथ्वीमा हुने दुर्घटनाले मानवजाति कै अन्त्य नगराओस्।’

हालैका वर्षहरुमा विशेषत: बौद्धिक कृतिम यन्त्रको निर्माणले हकिंग्सलाई चिन्तित बनाएको छ। ‘मानिसले निर्माण गरेका त्यस्ता बौद्धिक यन्त्र आँफै विकसित हुने र आफूलाई पुनर्निर्माण गर्दै जान्छन्,’ हकिंग्सले भनेका छन्, ‘मानिसको जैविक विकास सिमित हुने भएकाले उनीहरुले त्यस्ता यन्त्रसँग प्रतिस्पर्धा गर्न सक्दैनन्।’

सन् २००९ देखि अमेरिकाको नासाले मानवजातिको वैकल्पिक वासस्थानका लागि पृथ्वी जस्तै ग्रहहरुको खोजी गर्न शुरु गरेको छ।

त्यसका निम्ति अनुसन्धानकर्ताले ४६०० पृथ्वी जस्ता स्थानहरु पहिचान गरेका छन्। हाम्रो सूर्यलाई जस्तै घुम्ने अर्को ग्रह पहिलो पटक सन् १९९५ मा भेटिएको थियो।  एजेन्सी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया