मानव जिवनशैलीले भँगेरा ‘थ्रेट’मा

काठमाडौं -६ चैत्र

मानव र मानव जीवनसँग निकट रहने पन्छी भँगेरो हिजोआज तपाई हाम्रो घरआँगनमा खासै देखिँदैन । बढ्दो शहरीकरण र मानव जीवनशैलीमा आएको परिवर्तनका कारण यो पन्छीको संख्या पातलिन थालेको छ ।

घरआँगन र आसपासमा छरिने अन्नसहित करेसाबारी र खेतबारीमा लगाइने अन्नबाली तथा बोटविरुवामा लाग्ने कीरा फट्याङ्ग्रा भँगेराको मुख्य आहार हो । पर्याप्त आहार, उपयुक्त बासस्थान अभावका कारण पछिल्ला वर्षमा भँगेराको चहलपहल घट्न थालेको विज्ञहरु बताउँछन् ।

पन्छीविद् डा. हेमसागर बरालले भने, ‘मानिसको जीवनशैलीमा आएको परिवर्तनकै कारण शहरी क्षेत्रमा यसको संख्या पातलिँदै गएको छ।’ भँगेराले गुँड लगाउने परम्परागत शैलीका घर तथा गोठको संख्या नभेटिँदा र अन्न–अनाज हुर्किने खेतबारी मासिँदै जाँदा शहरी क्षेत्रमा यो पन्छीको चहलपहल घट्दै गएको उनले बताए ।

कृषिमा बढ्दो कीटनाशक औषधिको प्रयोग, बढ्दो प्रदूषण, मोबाइल फोनको तरंगसहित अन्य विकिरणले पनि शहरी क्षेत्रमा भँगेरा ‘थ्रेट’मा पर्न थालेको विज्ञहरुको बुझाइ छ ।

विश्वमा विभिन्न ३२ प्रजातिका भँगेरा अभिलेख गरिएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

नेपालमा घर भँगेरा, रुख, कैले, पीत कण्ठे र स्पेनिस भँगेरासहितका पाँच प्रजाति अभिलेख भएको नेपाल पन्छी संरक्षण संघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया