मुक्त यौनदासीलाई युरोपेली सम्मान

बिबिसी

लण्डन १२ कार्तिक

-इराकमा तथाकथित इस्लामिक स्टेट (आईएस) को यौनदासताबाट उम्कन सफल दुई याजिदी महिलाले युरोपको प्रतिष्ठित मानवअधिकार सम्मान ‘साखारोभ पुरस्कार’ जितेका छन् ।

विजेताद्वय नादिया मुराद बसी र लामिया अजी बसार हुन् । उनीहरूजस्तै हजारौं याजिदी युवती र महिलालाई सन् २०१४ मा आईएस लडाकुहरूले अपहरण गरी यौनदासी बन्न बाध्य पारेका थिए । दुवैजना त्यो दुदर्शाबाट फुत्केयता याजिदी समुदायको हितमा लागिपरेका छन् ।

वैचारिक स्वतन्त्रताको पुरस्कारका रूपमा चिनिएको उक्त पुरस्कार सोभियत वैज्ञानिक तथा विद्रोही चिन्तक आन्द्रेई साखारोभको स्मृतिमा वर्षेनि प्रदान गरिन्छ । युरोपेली संसद्को लिवरल आल्दे समूहले नादिया र लामियालाई उक्त पुरस्कारका लागि मनोनयन गरेको हो । समूह नेता गाई भरहोफस्टाडले उनीहरूलाई ‘घृणित बर्बरताको सामुन्ने अदम्य साहस र मानवता देखाउने प्रेरक महिला’ का रूपमा चित्रण गरेका छन् ।

युरोपेली संसद्का अध्यक्ष मार्टिन सुल्जले पुरस्कारको निर्णयले शरणार्थीका रूपमा युरोप आएकाहरूलाई सांकेतिक रूपमा सम्मान गरेको टिप्पणी गरे । ‘हामीले उनीहरूको संघर्षमा समर्थन गरिरहेको छौं,’ उनले भने ।

आईएसले सन् २०१४ को अगस्टमा उत्तर इराकी सहर सिन्जारलाई नियन्त्रणमा लिएपछि लाखौं याजिदीहरू घरबार छाडेर भाग्न बाध्य भएका थिए । त्यही मौकामा हजारौं युवती र महिला ‘युद्धका रहलपहल’ का रूपमा बन्धक बनाइए, यौनदासीका रूपमा आईएस लडाकुहरूबीच बेचबिखन भए । उनीहरूलाई पुरुषहरूबाट अलग पारियो । धेरै पुरुषहरूलाई मारियो ।

सिन्जार नजिकको कोचो नामक गाउँबाट अपहरित हुँदा मुराद १९ वर्षकी थिइन् । उनलाई मोसुल लगेर लगातार यातना दिँदै बलात्कार गरियो । उनी अन्तत: भाग्न सफल भइन् । उनले सिन्जार हमलामा आफ्ना ६ भाइ र आमा गुमाइन् । बसारको कथा पनि कम्ती हृदयविदारक छैन । उनले २० महिना लामो नारकीय अवधिमा पटकपटक उम्कने प्रयास गरिन्, अन्तत: सफल भइन् । उनी अपहरित हुँदा १६ वर्षकी थिइन् । याजिदीहरूलाई आईएसले धोकेबाज समुदाय ठान्दै आएको छ ।

याजिदीहरूको धार्मिक परम्परामा विभिन्न खाले आस्थाको संयोजन पाइन्छ । राष्ट्रसंघका अनुसार आईएसले इराक र सिरियाको याजिदी समुदायमा नरसंहार मच्चाएको थियो । आईएसले करिब ४ लाख जनसंख्याको याजिदी समुदायलाई निमिटयान्न पार्न चाहन्छ ।

सिन्जारको पहाडी क्षेत्रबाट थुप्रै याजिदी चिहानहरू फेला परेका छन् । नोभेम्बर २०१५ मा उक्त क्षेत्रलाई कुर्दिस विद्रोहीहरूले कब्जामा लिएका छन् । मुक्त भएर खुला संसारमा आएपछि मुराद याजिदीहरूको पक्षमा आवाज बुलन्द गर्दै आएकी छन् ।

साखारोभ पुरस्कारका लागि अन्तिम चरणमा परेकामा क्रिमियाकी अधिकारवादी मुस्तफा जेमिलेभ र निर्वासित टर्किस पत्रकार कान डुन्डर थिए । गत वर्षका विजेता साउदी ब्लगर राइफ ववादी हुन उनले हालै मात्र १० वर्षे जेल सजाय भुक्तान गरिरहेका छन् । अनलाइनबाट इस्लामलाई अपमान गरिएको भन्दै उनलाई हजार कोर्रा पनि हानिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया