मेलम्चीको पानी आएपछि काठमाडौंबासीले मलाइ चिन्छन् ।

बिजनेसपाटी २८ फागुन

आगामी दशैंसम्ममा काठमाडौं उपत्यकाको घर–घरमै मेलम्चीको पानी वितरण गरिने दाबी गरेका खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले काम पनि त्यतिकै रफ्तारमा गरिरहेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रूत गतिमा अघि बढिरहेको बताउने सिंहले निर्धारित समयमै काठमाडौं उपत्यकामा खानेपानी वितरण हुने दावी गर्दै आएका छन् ।
तर, उनको भनाई र गराईमा काँही अन्तर त छैन भनेर काठमाडौंको स्थलगत रिपोर्टिङ गर्दा उनले गरेको काम वास्तवमै सही भेटियो ।
मन्त्री सिंहकै भनाई अनुसार आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रूत गतिमा भइरहेको छ। विसं २०७४ साउनमा खानेपानी परीक्षण गर्ने गरी र वडादसैँमा घर–घरमा खानेपानी वितरण गर्ने लक्ष्य अनुसार काम भइरहेको छ ।
पाइपलाइन विस्तारका क्रममा राजधानीका सडकमा धुलोको समस्या न्यूनीकरण गर्ने काम भइरहेको छ । तर, पाइप बिछ्याउन खनिएका सडक पुनर्निर्माणको काम पनि भइरहेको छ ।
प्रेमबहादुर सिंहले आफ्ना बारेमा टिकाटिप्पणी गर्नेका लागि गतिलो जवाफ दिएका छन् ।

कालिकोटबाट काठमाडौं
वि.सं. २०१० असारमा कालिकोटमा जन्मिएका प्रेमबहादुर सिंहले नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहबाट राजनीति सुरु गरेका हुन् । जुझारु, युवा बोल्न पनि सक्ने आँटी युवा भएकै कारण वि.सं. २०२९ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले आफ्नो पार्टीमा स्वागत गरेका थिए ।
त्यसपछि पुष्पलाल समूहबाट अलग्गिएर वि.सं. २०३१ सालमा अहिलेको नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेपाल मजदुर किसान संगठन) मा प्रवेश गरे । सिंहसँग अध्यक्ष नारायणमान बिजुक्छे सिंहसँग लोभिएका थिए । अध्यक्ष नारायणमान बिजुक्छे प्रवासमा रहेका बेला सिंहले नेमकिपालाई विस्तार गर्न सहयोग गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी हुँदै नेपाल मजदुर किसान पार्टीबाट वामराजनीति अगाडि बढाएका गरेका सिंह नेमकिपाबाट बाहिरिएर तल्कालिन नेकपा मालेमा प्रवेश गरे । कर्णालीमा नेकपा मालेको विस्तार गर्न उनी पनि लागे । पार्टी एकीकरणसँगै एमाले भए । कर्णालीमा पार्टी विस्तार गर्ने एउटै हिरो हुन् उनी ।prb
राष्ट्रियसभामा सांसद भएका सिंह लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेका सरकारमा वि.सं. २०५३ सालमा पहिलो पटक मन्त्री भएका हुन् । उनले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
वि.सं. २०५६ सालको आमनिर्वाचनमा नेकपा एमालेबाट सांसद भएका सिंहलाई एमालेका केही व्यक्तिले देखिसहेनन् । त्यहीकारण एमालेले एमालेबाट राजीनामा दिए । वि.सं. २०६१ सालमा एमालेबाट राजीनामा लिएका सिंहले २०६२ सालमा समाजवादी प्रजातान्त्रिक जनता पार्टी गठन गरेका हुन् । अहिले समाजवादी जनता पार्टी नामाकरण गरिएको छ । अध्यक्ष सिंहलाई जनताले त्यति नै विश्वास गरिरहेका छन्, जति पहिले गर्थे । ‘कर्णालीबासीको माया अझै छ मलाई’, उनले भने, ‘अब मेलम्चीको पानी आएपछि काठमाडौंबासीले पनि चिन्ने छन् ।’
वि.सं. २०६६ सालमा एकीकृत नेकपा माओवादीले सरकार बिरोधी आन्दोलन थाल्यो । त्यसपछि राजनीतिक समीकरण पनि नयाँ–नयाँ ढंगले विकास भयो ।
राजनीतिक समीकरण बदलिँदै डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला गठन भयो, संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा । संयोजक तोकिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल । अनि प्रवक्ता थिए प्रेमबहादुर सिंह । ‘जिम्मेवार व्यक्तिलाई नै पद दिइने हो,’ उनले भने, ‘मेलै काम गर्न सक्छु भनेर नै साथीहरुले मलाई जिम्मेवारी दिनु भएको हो ।’
दोस्रो संविधानसभाको निर्वाचनअघि संघीयता पक्षधरको मोर्चामा विभिन्न २९ दल सामेल थिए । जसमा एक थियो, समाजवादी जनता पार्टी । त्यही मोर्चामै हुँदा मुलुक राजनीतिको कठिन मोडबाट गुज्रिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सिंहले साथ दिए । ‘जसरी हुन्छ निकास खोज्नु पर्छ भन्ने पक्षमा छु म’, उनले भने, ‘त्यसैले प्रचण्डजीले पनि विश्वास गर्नु भएको हो ।’
उनका दुई वटी श्रीमती छन् । उनी भन्छन्, ‘त्यति बेला कानुन बनेको थिएन, अब अहिले फिर्ता गर्न पनि मिलेन ।’ जेठी ज्ञानु सिंह र कान्छी पद्मा सिंहप्रति उनी जिम्मेवार छन् ।
मन्त्री सिंहका चार जना छोराछोरी छन्। जेठी ज्ञानुतर्फ दुई छोरी र कान्छी पद्मातर्फ १ छोरी र १ छोरा छन्। दुबै श्रीमती थानकोटको एउटै घरमा खुसीसाथ बसिरहेका छन् ।
खानेपानी तथा सरसफाई मन्त्री सिंहले आफूले बुझाएका हरेक बायोडाटामै दुई पत्नी लेखेको बताएका छन्। ‘म ढाँट्ने मान्छे हैन, २०४८ सालको चुनाव, ५२, ५६, ६४ र २०७० को संसद रेकर्डमा हेर्नुहोला, मैले दुई श्रीमती नै लेखेको छु,’ उनले भने, ‘दुई श्रीमती हुन् भन्दा मलाई संकोच छैन ।’
वि.सं. २०१० सालमा जन्मेका सिंह संविधान बन्दैगर्दा विवाद समाधान समितिमा थिए । उनले हरेक विवाद समाधानमा भूमिका खेलेको मूल्यांकनस्वरुप ओली सरकार र दाहाल सरकार दुबैमा मन्त्रालयको जिम्मेवारी पाएको उल्लेख गरेका छन् ।
‘संविधान जारी गर्ने कुरामा ठूला दलको भन्दा कम भूमिका मेरो थिएन, २०६४ र ०७० को मेरो पार्टीको घोषणापत्र पढ्नुस्, अहिलेको संविधान पढ्नुस्, ९० प्रतिशत संविधान मेरो घोषणापत्रबाट बनेको छ,’ उनले भने ।
कोही मान्छेले मेहनत गरेर आफ्नो जिन्दगी सुधारेको सहन सक्ने जमात कम छ, त्यसैले योजनाबद्ध तरिकाले आफूमाथि षडयन्त्र भइरहेको सिंहले प्रष्ट पारेका छन् । ‘हो, राजनीतिक जीवनमा कमी कमजोरी, उतारचढाव भए होलान्’, सिंह भन्छन्, ‘मेरा पनि कमजोर पक्ष होलान्, तर केही एमालेका साथीहरुले नियोजित रुपमै ममाथि प्रहार गरिरहेका छन् ।’
सिंहका अनुसार अहिले खानेपानी तथा सरसफाई क्षेत्रमा निकै काम हुनसक्छन्। अघिल्लो सरकारकै पालामा खानेपानीका धेरै कार्यक्रमहरू अघि बढिसकेकाले त्यसलाई निरन्तरता दिने योजना उनले सुनाएका छन् ।
सिंहका अनुसार खानेपानी भौतिक योजना मन्त्रालयको मातहतमा एउटा महाशाखा जस्तो थियो। पहिलोपटक आफू मन्त्री बनेपछि त्यसलाई आकार दिएको उनी बताउँछन् । ‘स्वच्छ खानेपानी र सरसफाईको मौलिक हक अन्तर्गत यो मन्त्रालय गठन भयो, यहाँ केही थिएन, न बजेट आउँथ्यो, मैले नयाँ–नयाँ कार्यक्रम बनाएँ, मन्त्रालयले एक किसिमको आकार लियो, म आइकन बजेट बढाएँ, सबै जिल्लामा दोब्बर पारेको छु,’ उनले बिजनेसपाटीसँग भने, ‘मेलम्ची म मन्त्री हुँदा शून्यमा थियो, मैले एक महिनामा एक किलोमिटरभन्दा बढी बनाएँ। अहिले एक महिनामा २७६ मिटरमात्र भएको रहेछ। त्यो कामलाई छिटो बनाएर काठमाडौंको खानेपानी हाहाकार हटाउन म लागिपरेको छु ।’
तराईका २० जिल्लाको खानेपानी आर्सेनिकयुक्त छ। ‘हेल्थ फर अल’ नारा उनले सम्झिए । आफूले अब ‘हेल्थ फर अल’ भनेजस्तै ‘सेफ वाटर फर अल’ नारा अगाडि बढाउने उनले बताए। ‘तराईका सम्पूर्ण जिल्लाको खानेपानीमा आर्सेनिक छ, ती बीस जिल्लालाई सम्बोधन गरेर एउटा कार्यक्रम बनाएको छु, तराई मधेस खानेपानी सुधार आयोजना,’ उनले भने, ‘सरकारको नीति कार्यक्रममा स्वीकृत भएर अहिले तराईमा १०६ वटा आयोजनाको काम भइरहेको छ ।’
उनका अनुसार ती विभिन्न ‘क्लस्टर’मा छन्। अब ‘डिप बोरिङ’मा जाने र कतिवटा घर छन्, ओभरहेड ट्याङकी बनाउने, सोलार पम्पिङ गर्ने र त्यो पानी फिल्टर गरेर वितरण गर्ने योजना छ । त्यस्तै, सुख्खाग्रस्त क्षेत्र, सुर्खेत भ्यालीमा हेभी पम्पिङबाट पानी दिने, तानसेन, गोरखा, हलेसी क्षेत्रका ८÷१० वटा गाविसमा विशेष योजना ल्याउने सिंहले जनाएका छन् ।
‘तीन महिनामा कामलाई एउटा लिकमा राखियो भने अर्को आएर त्यसैलाई निरन्तरता दिने हो,’ उनले भने, ‘खानेपानी र सरसफाईको विषयमा कसैको असहमति पनि छैन। म दुई महिना बसे पनि दुई दिन बसे पनि केही फरक पर्दैन।’
उनले खानेपानी आयोजना सम्पन्न भएपछि सार्वजनिक धारा हैन, एक घर एक धारा बनाउने योजनामा रहेको बताएका छन् । ‘जति पनि चलिरहेका आयोजना छन्, म एक घर एक धाराको अवधारणा ल्याउँदैछु’, उनले भने, ‘पूराना आयोजना विस्तार गर्दा पनि त्यही हुनेछ ।’ ‘एक घर एक चर्पी’ राख्ने कार्यक्रमकै रुपमा ल्याउने, सार्वजनिक शौचालय बनाउने, स्कुल, बसपार्क र सडकमा शौचालय बनाउने कार्यक्रम ल्याउने उनले बताएका छन् ।
सिंहका अनुसार नदी ताल तलैयाको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने आवश्यकता छ । नदी तालको प्रदुषण हटाएर संरक्षण थाल्ने, नदीहहरूबाट पूर्वपश्चिम पानी लिने, सहर बजारमा लगेर वितरण गर्ने मेगा प्रोजेक्टमा जाने आफ्नो तयारी रहेको सुनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया