मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरे

काठमाडौँ १३ असार
एजेन्सी-अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् ।चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।
आँखाभरि आँशु झारेका मेसीले अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यासको निर्णयबारे बयान गर्दै भने,‘राष्ट्रिय टिमबाट खेल्न मलाई पुग्यो।’ चिलीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसी मैदानमै रोएका थिए। २९ वर्षीय मेसीले राष्ट्रिय टोलीबाट ११२ खेल खेलेका छन्। मेसीले सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
मेसीको कप्तानीमा पछिल्लो तीन वर्षमा अर्जेन्टिना दुई पटक कोपा अमेरिकाको फाइनलमा र विश्वकप फुटबलको फाइनलमा पराजित भएको थियो।गत संस्करणको कोपा अमेरिका फुटबलमा चिलीसँगै पेनाल्टी सुटआउटमा पराजित भएको अर्जेन्टिना सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग पराजित भएको थियो। लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको अर्जेन्टिना सोमबार चिलीसँगै दोस्रो पटक पेनाल्टी सुटआउटमै पराजित हुँदै उपाधि जित्न असफल भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया