मैले देखेका सपना पूरा गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँः२१ जेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश विकासका लागि देखेका सपना पूरा गरेर देखाउने दाबी गरेका छन् ।

सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि मैले देखेका सपना विकासका योजना हुन्, ती सबै सपना पूरा गरेर देखाउँछु ।’

ओलीले सरकारले देखेका सपना पुरा गर्न कर्मचारीले साथ दिनुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीलाई अल्छी लाग्यो भनेर फाइल नघुमाउन समेत निर्देशन दिए ।

ओलीले भने, ‘आज अल्छी लाग्यो भोलि काम गर्ने भन्दै समय सार्ने, जनताका फाइल घुमाइरहने जस्तो काम नगरी जनताको सेवामा लागिरहनु ।’

सरकार नयाँ ढङ्गले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको भन्दै उनले भने, ‘सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ भन्नेबारे बुझ्न गाह्रो छ, अरु त के आफ्नै पार्टीले बुझ्दैन ।’

प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि तुइनबाट यात्रा गर्दा झरेर मान्छेहरु मर्ने भएकाले आगामी २०७४ भदौसम्म तुइन विस्थापन गर्ने गरी काम अघि बढाएको उल्लेख गरे ।

उनले वर्तमान सरकार भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर सक्रिय सरकारको अनुभूत गराएको बताए ।

राष्ट्रसेवक कर्मचारीमा स्पष्टता र सक्रियता हुनुपर्नेमा जोड दिँदै उनले कर्मचारीका समस्या समाधानमा सरकार प्रयत्नशील भएको हुनाले मुलुक सङ्कटका बीचमा पनि कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको उल्लेख गरे ।

सङ्गठनका अध्यक्ष कृष्णमान श्रेष्ठले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको भावना बुझेर २५ प्रतिशत तलब वृद्धिले कर्मचारीलाई निकै उत्साहित बनाएको र कर्मचारीभित्रका विकृति हटाएर क्रियाशील रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया