मोदी र मेरो केमेस्ट्री मिल्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं २७ भदौ

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘केमेस्ट्री’ मिल्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तर्वार्तामा दाहालले मोदी र आफ्नो बीचमा वैचारिक तथा अन्य पक्षमा फरकपन भए पनि सोचाइ र केही विषयमा समानता रहेको बताएका छन् । दाहालले आफूजस्तै मोदी पनि खतरा मोल्न चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको समेत बताए । ‘बहुमतको साथ निर्वाचित भएका मोदी एक बलिया प्रधानमन्त्री हुन् । नेपाली जनता मोदीलाई निकै विश्वास गर्छन् । हामीले यो विश्वासलाई अझ सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ दाहालले भनेका छन् ।

दाहालले भारत भ्रमणका क्रममा आफूले मोदीले जनकपुर र लुम्बिनीको धार्मिक यात्राको भ्रमणका लागि निम्तो दिनेसमेत अन्तर्वार्तामा बताएका छन् । सन् २०१४ मा मोदीले यी ठाउँको भ्रमण गर्ने तय भए पनि अन्तिम समयमा आएर रद्द भएको थियो जसले भारतीय पक्षलाई चिढ्याएको थियो । नेपालमा चीनको प्रभावका सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले नेपाल र भारतको सम्बन्धमा चीन फ्याक्टर नभएको समेत बताएका छन् । वैचारिक रूपमा चीनसँग नजिक भएको भनी सोधिएको प्रश्नमा दाहालले चीनका लागि दुवै आइडियोलोजीभन्दा पनि व्यापार र अर्थतन्त्र महत्त्वपूर्ण रहेको बताएका छन् ।

मधेस केन्द्रित दलहरूको मागका सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले संविधान निर्माणका क्रममा आफ्नो पार्टीले नोट अफ डिसेन्ट लेखेको जनाउँदै मधेस केन्द्रित दलहरूको मागका सम्बन्धमा आफ्नो सहानुभूति रहेको बताए । उनले आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य विश्वासको आधार बनाउनु रहेको समेत बताएका छन् ।

उनले घुमाउरो पारामा आफू यस अगाडि प्रधानमन्त्री हुँदा गल्ती गरेको समेत स्वीकार गरेका छन् । ‘पछिल्लो दशकको उतारचढावपछि अब दुई देशको सम्बन्धलाई परिपक्व ढंगले अगाडि बढाउन सकिन्छ भन्ने मलाई लाग्छ,’ दाहालले भनेका छन् । उनले अघिल्लो वर्षमा नेपाल र भारतको बीचमा केही पारस्परिक अविश्वास देखिएको समेत उल्लेख गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया