मौद्रिक नीतिमा धितोपत्र बोर्डको यस्तो आयो ६ बुदे सुझाव

बिजनेसपाटी १४ असार  ।

आगामी आर्थिक बर्षका लागि तर्जुमा गरिने मौद्रिक नीतिमा नेपाल धितोपत्र बोर्डले आफ्ना ६ बुँदे सुझाव पेश गरेको छ । बोर्डले नेपाल राष्ट्र बैंकलाई लिखित रुपमा सुझाव पेश गरेको हो । वित्तिय क्षेत्रको नियामक निकाय केन्द्रिय बैंकलाई पुँजी बजारको सर्वाेच्च निकाय बोर्डले लिखित सुझाव दिएको हो । नेपालको पुँजी बजारमा वित्तिय क्षेत्रको सबै भन्दा ठुलो हिस्सा रहँदै आएको छ ।

यस्ता छन् ६ बुदा 

१) वित्तीय क्षेत्रको बाहुल्यता रहेको नेपालको धितोपत्र बजारमा वास्तविक क्षेत्रको प्रवेश बढाई यसको सन्तुलित विकास गर्न नेपाल सरकार र नेपाल धितोपत्र बोर्डबाट विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाइएको छ । आर्थिक वर्ष २०७३।७४को बजेट बक्तव्यमा पुँजी बजारमा उत्पादनमूलक कम्पनीहरुलाई सूचिकृत हुन प्रोत्साहन गर्न पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था मिलाउनुका साथै नेपाल सरकारद्वारा स्वीकृत धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३मा वास्तविक क्षेत्रका पब्लिक कम्पनीहरुले सर्वसाधारणमा कम्तीमा १० प्रतिशत मात्र सार्वजनिक निष्काशन गर्न सक्ने तथा धितोपत्रको सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य तोक्न सक्ने व्यवस्था गरिएको छ । यसै क्रममा देशको आर्थिक विकासको महत्वपूर्ण संयन्त्रको रुपमा रहेको धितोपत्र बजारमा वास्तविक क्षेत्रका पब्लिक लिमिटेड कम्पनीहरुको प्रवेशलाई थप प्रोत्साहन गर्न कृषि तथा उर्जा क्षेत्रलाई प्राथमिकता क्षेत्र मानिए जस्तै धितोपत्र बजारमा क्षेत्रगत विविधता बढाई समग्र वित्तीय क्षेत्रको गतिशिलता एवं विश्वसनीयता अभिबृद्धि गर्न धितोपत्र बजारमा सार्वजनिक निष्काशन गरेका वास्तविक क्षेत्रका उत्पादन मूलक पब्लिक कम्पनीहरुलाई समेत प्राथमिकता क्षेत्रमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने ।

२) म्युचुअलाइज्ड स्टक एक्सचेञ्जको अवधारणा अनुरुप संचालक समितिमा धितोपत्र दलाल व्यवसायी समेत रहने गरी गैर मुनाफाकारी संस्थाको रुपमा रहेका नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)को स्वामित्व संरचनामा सुधार गरी संचालक समितिमा धितोपत्र दलाल व्यवसायीको सट्टा विज्ञ संचालकको व्यवस्था हुनेगरी मुनाफाकारी डिम्युच्युअलाइज्ड संस्थाको रुपमा वि.सं.२०६४ मा नेप्सेलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफाकारी संस्थामा परिणत गरिएता पनि हालसम्म यसको स्वामित्व संरचनामा सुधार भई डिम्युच्युअलाइज्ड संरचनामा जान नसकिरहेको स्थिती छ । हाल नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार सम्बन्धी अन्तर्राष्ट्रिय नियमन निकायहरुको संस्था(आईओएससिओ)कोे सदस्य भई सकेकोले धितोपत्र बजारसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप बजार पूर्वाधारहरुको सुधार तथा विकास गर्नुपर्ने सन्दर्भमा नेप्सेको स्वामित्व संरचनामा शीघ्र सुधार गरी अन्तर्राष्ट्रियस्तरको व्यावसायिक संस्थाको रुपमा विकसित गर्नुपर्ने आवश्यकता र विद्यमान धितोपत्र बजार संचालन नियमावली, २०६४को व्यवस्थालाई दृष्टीगत गरी, उत्कृष्ट सूचिकृत कम्पनीहरुलाई बिक्री गर्ने व्यवस्था गर्न उपयुक्त हुने ।

३) देशको वित्तीय क्षेत्रको विकासको प्रारम्भिक चरणमा बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयर तथा सर्वसाधारण सेयर स्वामित्व रहने व्यवस्था भएकोमा विभिन्न अध्ययन÷अनुसन्धानबाट बजारमा आएको सुधार तथा बजारको परिपक्वता अनुसार यसमा क्रमशः सुधार हुंदै जानुपर्ने देखिएको । यस सम्बन्धमा हालै लागू भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न पाउने व्यवस्था भएको र बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता रहेको नेपालको धितोपत्र बजारमा यसरी संस्थापक सेयर एकै पटक सर्वसाधारणमा परिवर्तन भएमा धितोपत्रको बजार मूल्यमा ठूलो प्रभाव पर्न सक्ने भएकोले यस्तो परिवर्तन बजारको अवस्था हेरी उपयुक्त समय तथा प्रतिशतको आधारमा चरणबद्ध रुपमा हुने व्यवस्था गर्न उपयुक्त हुने ।

४) नेपाल राष्ट्र बैंकको समेत सहमतिमा बैंक तथा वित्तीय संस्थाहरुको सम्लग्नतामा धितोपत्रको प्राथमिक निष्काशनमा आश्वा प्रणालीको कार्यान्वयन कार्य अगाडि बढाइएकोमा हाल धितोपत्रको प्राथमिक बजार देशको ७५ वटै जिल्लामा पुगिसकेको र आगामी साउन २०७४ देखि आश्वा प्रणाली अनिवार्य गरिएको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण हुँदा आश्वा प्रणाली सम्बन्धी गतिविधिहरुको समेत सुपरिवेक्षण गर्ने व्यवस्था गरिदिने ।

५) हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिइरहेको तथा यस्तो अभ्यासलाई मार्जिन कारोवार समेत भन्ने गरिएको र यस्तो अभ्यास धितोपत्रको मूल्य प्रवृत्ति तथा वित्तीय क्षेत्रको तरलताको स्थितिले प्रभावित भई बजारमा ठूलो उतार चढाव आउने तथा यसका कारण बैंक तथा वित्तीय संस्थाले समेत जोखिम बहन गर्नुपर्ने स्थिति रहेकोले यसमा सुधार ल्याउन अन्तर्राष्ट्रिय अभ्यास अनुसार धितोपत्र दलाल व्यवसायीहरु मार्फत् मार्जिन कारोवार सेवाको व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल व्यवसायको पुँजीआधार तथा पूर्वाधार बढाई सुदृढ गर्र्ने कार्य अगाडि बढाइएको छ । मार्जिन कारोवार प्रकृयामा बैंक तथा वित्तीय संस्थाको सम्लग्नता समेत हुन सक्ने हुंदा वजार विस्तार तथा लगानीकर्ताको हितलाई दृष्टगत गरी यसको सुदृढ एवं विश्वसनीय व्यवस्थाका लागि नियमन निकायहरु वीच आवश्यक समन्वय तथा सहजीकरण बढी महत्वपूर्ण हुने ।

६) बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरु एक आपसमा मर्जर हुंदा कायम गरिने स्वाप अनुपात धितोपत्र बजारका लगानीकर्ताहरुको हितसंग सम्बन्धित विषय भएकोले यस्तो विषयमा धितोपत्र बजारको अवस्था हेरी नेपाल धितोपत्र बोर्डसंगको समन्वयमा गर्न उपयुक्त हुने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया