मौसममा आएको खराबीले उडानहरु प्रभावित

काठमाडौँ ५ मंसिर

चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान र अवतरण प्रभावित भएको हो । विशेष गरी आन्तरिक उडान प्रभावित भएपछि यात्रु अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएका हुन् । उनका अनुसार यान्त्रिक उडानसँगै भिजिबिलिटी कमजोर देखिएपछि मंगलबार दिउसो १२ बजेसम्म उडान भर्न समस्या भएको थियो ।

‘मंगलबार विहानै देखि मौसम खराब थियो । आन्तरिक उडानमा स्वभाविक रुपमा समस्या हुने भयो । फ्लाइट गर्न सकिने अवस्था थिएन,’ विमानस्थलका महाप्रबन्धक श्रेत्रीले भने, ‘देशभरका आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भयो । यसमा अन्य कारण भन्दा पनि मौसमकै समस्या हो ।’

उनका अनुसार आन्तरिक उडानका लागि दुई बजेपछि मात्रै सहज भएको थियो । मौसम फेरबदल भएपछि मंगलबारका उडानहरु फेरबदल भएका थिए । विहान ८ बजे अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रु उडान नभएपछि करिब ६ घन्टा विमानस्थलमै पर्खिएको उनले बताए । माउन्टेन्ड फ्लाइट पूर्ण रुपमा बन्द जस्तै भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
नागरिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया