यसकारण यी चार नेता देउवासँग रिसाए

काठमाडौँ २३ श्रावण 

अर्जुननरसिंह केसी

महाधिवेशनका वेला संस्थापनबाट देउवा पक्षमा सरेर महामन्त्रीका उम्मेदवार बनी पराजित अर्जुननरसिंह केसी सरकारमा जाने विषयमा सभापतिसँग असन्तुष्ट भएका छन् । आफूले रोजेजस्तो मन्त्रालय नपाएको भन्दै उनी सरकारमा जान मानेनन् । उनले पार्टीको तर्फबाट आफ्नो नेतृत्वमा सरकारमा जाने र गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने माग गरेका थिए ।  त्यसो नभएमा स्थानीय विकास, भौतिक योजना तथा यातायात मन्त्रालय उनको प्राथमिकतामा थियो । तर, देउवाले रक्षा वा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन भनेपछि अस्वीकार गर्दै सपथ लिन जान मानेनन् । जनतासँग सीधै जोडिएको मन्त्रालय नदिएकाले मन्त्री नभएको उनको भनाइ छ ।

गोपालमान श्रेष्ठ

सभापति शेरबहादुर देउवाको टिममा गोपालमान श्रेष्ठ पुराना नेता हुन् । उनी उपभापतिका दाबेदार हुन् । प्रजातान्त्रिक कांग्रेसको उपसभापति भएको तथा सिनियर भएकाले अहिले पनि उपसभापति पाउनुपर्ने उनको माग छ । उपसभापति बनाउन देउवा तयार नभएपछि उनी असन्तुष्ट बनेका छन् । सरकारमा पनि नलग्ने संकेत पाएपछि उनी थप असन्तुष्ट बनेका छन् ।

केबी गुरुङ

महाधिवेशनको मुखैमा केबी गुरुङसहित गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, विनयध्वज चन्दलगायतको टिम देउवा पक्षमा लागेको थियो । गुरुङले केन्द्रीय सदस्यमा जिते पनि अन्य नेता पराजित भए । देउवाले सहयोग नगरेकाले उनीहरू पराजित भएको बुझाइमा गुरुङ असन्तुष्ट छन् । आफ्नो पक्षकालाई महत्वपूर्ण ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग गुरुङले देउवासँग गर्दै आएका छन् ।

मनमोहन भट्टराई

केन्द्रीय सदस्यमा देउवाले सहयोग नगरेका कारण पराजित भएको भट्टराइको बुझाइ छ । उनको केन्द्रीय सदस्यमा मनोनीत हुने अपेक्षा रहेको स्रोतको भनाइ छ । तर, देउवाले चासो नदिएकोमा असन्तुष्ट छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया