यसरी फेरि उठाइँदै हिन्दूराष्ट्रको मुद्दा

काठमाडौं १५ मंसिर ।
संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् ।

हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको छ । विश्व हिन्दू महासंघको नेतृत्व पुनर्गठन भएको छ भने केशरबहादुर विष्ट, बालकृष्ण न्यौपानेलगायतले नेतृत्व गरेको समूह पनि हिन्दूराष्ट्रका लागि सक्रिय भएको छ ।

कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको ‘सनातन हिन्दूराष्ट्रका लागि महाअभियान’ले बुधबार काठमाडौंमा पार्टी निकटस्थ र शुभेच्छुकहरूको भेला बोलाएको छ । गत वर्ष संविधान जारी हुनुअघि नै सेलाएको खड्का नेतृत्वको महाअभियानले संविधान संशोधनको तयारी भइरहेका वेला दबाब दिन सक्रियता बढाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

महाअभियानका नेता देवप्रकाश त्रिपाठीका अनुसार बुधबार बोलाइएको भेलाले हिन्दूराष्ट्र, गणतन्त्र, संघीयतालगायतबारे धारणा तय गर्ने छ । भेलामा कांग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा रहेको हिन्दूराष्ट्रका लागि नागरिक संघर्ष समितिमा आबद्धहरू पनि सहभागी हुनेछन् ।

महाअभियानले लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दूराष्ट्रका पक्षमा आफूलाई उभ्याएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला पनि हिन्दूराष्ट्रका पक्षपाती हुन् । नेता खड्काको हिन्दूराष्ट्र अभियानमा अन्य केन्द्रीय सदस्यले पनि मुद्दामा समर्थन गर्ने खड्कानिकट नेताहरूको दाबी छ । उनले बोलाएको भेलामा वनमन्त्री शंकर भण्डारी, कांग्रेस नेताहरू तारानाथ रानाभाट, लक्ष्मण घिमिरेलगायत पनि सहभागी हुँदै छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह विश्व हिन्दू महासंघको कार्यक्रममा सहभागी भएर भाषण दिएबाहेक प्रत्यक्ष रूपमा हिन्दूराष्ट्रका लागि सक्रिय छैनन् ।

पछिल्लो समय भारत र चीन पुगेर फर्किएका पूर्वराजाले यो अभियानका लागि लगानी गर्ने इच्छासमेत नदेखाएको उनीनिकटहरू बताउँछन् । राजसंस्था पुनस्र्थापना र हिन्दूराष्ट्रका लागि हुने कार्यक्रम वा गतिविधिमा समर्थन रहने, तर आफू सक्रिय पनि नहुने, खर्च पनि नगर्ने पूर्वराजाको रणनीति छ । ‘पूर्वराजा हामीले सोचेजस्तो उत्साहित हुनुहुन्न,’ ज्ञानेन्द्रका एक सहयोगीले भने, ‘तर, अहिले माहोल बनिरहेकोमा उहाँ खुसी हुनुहुन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया