यसरी हानियो युवा संघ रुपन्देहीका अध्यक्षमाथि गोली

बुटवल  ५ पौष

एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ। देवदह नगरपालिको खैरहनीमा सोमबार अपराह्न उनको हत्या गरिएको हो।

दिउँसो साढे ३ बजे खैरहनीबाट मोटरसाइकलमा दक्षिणतर्फ जाँदै गर्दा तिवारीमाथि गोली प्रहार भएको थियो। गोली लागेर घाइते ३८ वर्षीय उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

एमालेले राजनीतिक प्रतिशोधले तिवारीको हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। प्रहरीले भने व्यक्तिगत दुस्मनीमा उनको हत्या भएको जनाएको छ। मोष्ट वान्टेड रहेका मनोज रानाले बिदेशबाट फोन गरी घटनाको जिम्मेवारी लिएका छन्। लामो समयदेखि राना र तिवारीबीच दुश्मनी चल्दै आएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव उपरिक्षक(डिएसपी) वेलबहादुर पाण्डेले रातो पल्सर मोटरसाइकलमा आएका दुईजनाले पिछा गरेर तिवारीमाथि गोली हानेको बताए। पाण्डेका अनुसार देवदह नगरपालिका–८ स्थित खैरेनी चोकदेखि एक सय मिटर दक्षिणतर्फ बाटोमा तिवारीलाई मोटरसाइकलमा ओभेरटक गरी उनीमाथि गोली हानिएको थियो। तिवारीको छातीको बायाँतर्फ गोली हानेर आक्रमणकारी भागेको  डिएसपी पाण्डले बताए।

केही महिनाअघि पनि तिवारीको हत्या प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीले घटना लगत्तै जिल्लाका सबै नाकामा चेकजाँचमा कडाइ गरेको छ। भारतीय सिमा नाकामा पनि चेकजाच कडाइ गरेको छ। अपराध अनुसन्धानमा दक्ष प्रहरीलाई काठमाडौंबाट बुटवल झिकाएर अनुसन्धान अघि बढाइएको छ। क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिआईजी कमलसिंह बम समेत बुटवल आएका छन्।

अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानमा मनोज रानाकै समूहले आक्रमण गरेको देखिएको छ। तिवारीले संचालन गरेको ईटा भट्टामा पनि ६ महिनाअघि रानाको समूहले तिवारीमाथि आक्रमण गरेको थियो। तर, त्यसबेला तिवारीलाई गोली लागेको थिएन। घटनामा संलग्न राना समूहका ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको थियो। आठै जना हाल जेलमा छन्।

राना भने बिदेश भागेका थिए। रानाले त्यसअघि पनि खैरहनीकै एक स्नुकर हाउसमा गोली हानेका थिए। सोही घटनादेखि उनी फरार रहदै आएका थिए। आफ्ना सहयोगी परिचालन गरी रानाले तिवारीलाई आक्रमण गरेको हुनसक्ने प्रहरी आशंका छ। ‘केही व्यक्तिहरुलाई फोन गरेर रानाले आफुले हत्या गरेको दाबी गरेका छन्,’ एसएसपी बस्नेतले भने, ‘हत्यामा संलग्नहरुको खोजी जारी छ।’ हत्यामा प्रयोग भएको आशंका गरिएको रातो रंगको मोटरसाइकल रोहिनीपुर भन्ने स्थानमा बेबारिसे अवस्थामा भेटिएको छ। गुन्डागर्दीमा संलग्न राना पहिलेदेखि अपराधीक पृष्ठभुमीका व्यक्ति भएको प्रहरी अधिकारी बताउछन्।

कुनै समय उनी तिवारीसँग निकट थिए। तर, पैसाको विषयामा उनीहरुबीच विवाद बढेको प्रहरी अधिकारीहरुको भनाइ छ। राना पनि देवदहकै बासिन्दा हुन्। युवा संघका नेताहरुले भने ५ नम्बर प्रदेश टुक्राउने सरकारको निर्णयविरुद्ध लागेकाले राजनीतिक प्रतिशोधस्वरुप उनको हत्या भएको आशंका गरेका छन्। तिवारी ५ नम्बर प्रदेश टुक्राउन नहुने भन्दै आन्दोलनमा सक्रिय थिए।

दुर्गा तिवारी आफैँले मोटरसाइकल चलाएका थिए। मोटरसाइकलको पछाडि अर्को एक व्यक्ति बसेका थिए। उनीहरूको पिछा गर्दै रातो पल्सरमा दुईजना गएको भन्ने प्रारम्भिक रिपोर्ट आएको छ। रातो पल्सरमा आएकाले केही अगाडि बढेपछि ओभरटेक गर्ने क्रममा तिवारीलाई गोली हानेको देखिन्छ। पछाडि बसेकालाई भने केही भएको छैन।

आक्रमणकारीले एउटा मात्रै गोली हानेका छन्। छातीको बायाँ साइडमा अर्थात् मुटुमै गोली लागेको रहेछ। घटनालगत्तै प्रहरीले चारैतर्फ सुरक्षामा कडाइ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया