यसरी हुँदैछ पाेखरामा भारतीय राष्ट्रपतिको स्वागतकाे भव्य तयारी

पोखरा १७ कात्तिक

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।  राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ। अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जी पोखरा आउनेछन्। उनको भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समितिअन्तर्गत रेहका विभिन्‍न समितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार तिव्र गतिमा काम गरिरहेका छन्। क्षेत्रीय प्रशासक खगराज बरालले राष्ट्रपति मुखर्जीको अगामी कात्तिक १९ गते हुने पोखराको भ्रमणका लागि सवारी आवागमनको पूर्व अभ्यास बिहिबार गर्न लागिएको जानकारी दिए।

उनले सरसफाइ लगायतका विभिन्‍न काम भइरहेकाे बताए।  राष्ट्रपति मुखर्जीको आगमनलाई लक्षित गरी पोखरामा विभिन्न ठाउँमा स्वागतद्वार निर्माण, सरसफाइ सौन्दर्यीकरणका काम भइरहेको क्षेत्रीय प्रशासक बरालले जानकारी दिए। राष्ट्रपति मुखर्जीको भ्रमणलाई लक्षित गरी बिग्रे भत्केका सडकको मर्मत गरिएको छ। त्यस्तै, विभिन्‍न नौ ठाउँमा स्वागतद्वार राख्न लागिएकोमा सात ठाउँको स्वागतद्वार निर्माण सम्पन्न भइसकेको पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताए। राष्ट्रपति मुखर्जीको सम्मानमा स्थानीयवासीले पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मका बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने कार्यक्रम छ।  स्वागत व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठका अनुसार पोखरा विमानस्थलदेखि राष्ट्रपति मुखर्जी जाने रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म उहाँको सम्मानमा विभिन्न जातजातीबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिने कार्यक्रम छ । स्वागतका लागि सम्बन्धित टोल तथा समुदायमा आवश्यक पत्राचार भइसकेको जानकारी उनले दिए। राष्ट्रपति मुखर्जीको सम्मानमा स्वस्तीवाचनका लागि लेखनाथ नगरपालिका क्षेत्रबाट समेत बटुकहरुको उपस्थिति गराइने भएको जानकारी दिए।  राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम छ। विमानस्थलबाट केही समय आराम गर्नका लागि पोखरा ग्रान्ड होटलमा जाने र अपरान्ह ३ः०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया