यसरी हुँदै छ महानगरमा मेयरको प्रचार

काठमाडौँ २७ बैशाख
काठमाडौं महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन्। योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कांग्रेस महानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीको दैनिकी निकै व्यस्त छ। बिहान ४ बजे उठिसक्छन्। नित्य कर्म सक्दानसक्दै घरमा कार्यकर्ता जम्मा भइसक्छन्। कार्यकर्ता दिनभरको चुनावी प्रचार योजना बनाउने थाल्छन्। उनी भने फोन सम्पर्कमा व्यस्त हुन्छन्। हल्का ब्रेकफास्ट लिएपछि घरदैलो कार्यक्रममा निस्कन्छन्। उनी १२ बजेसम्म घरदैलोमा व्यस्त हुन्छन्। त्यसपछि चुनावी प्रचारप्रसारका लागि खोलिएको बागबजारस्थित कार्यालय पुग्छन्। केही समय अन्तर्वार्ता दिन्छन्। अनि पुनः घरदैलोमा निस्कन्छन्। उनको घरदैलो राति १० बजेसम्म जारी रहन्छ। ‘साता दिनदेखि व्यस्त सेड्युलमा चल्नुपरेको छ। खाना खाने फुर्सदसम्म छैन। घरदैलो, कोठेबैठक, योजना निर्माण र मिडियासँगको अन्तर्वार्तामै दिन बितेका छन्,’ उनले भने। एक सातामा डेढ सय अन्तर्वार्ता चुनावी प्रचार गर्न उनले मिडिया र सामाजिक सञ्जाल दुवैलाई भरपुर प्रयोग गरेका छन्। सात दिनमा उनले मिडियालाई मात्रै डेढ सयभन्दा धेरै अन्तर्वार्ता दिइसकेका छन्। सामाजिक सञ्जालमा उनकै नाममा फेसबुक पेज छ। पेज अपलोड गर्न कार्मचारी नै खटाएका छन्। ‘चुनाव जसरी पनि जित्नु छ। प्रचारप्रसार नगरी हुँदैन। यसका लागि मिडिया र सामाजिक सञ्जाल दुवै प्रयोग भएका छन्,’ उनले भने। एमाले एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन्। उनी बिहान ५ बजे नै उठिसक्छन्। कालो चियासँगै उनी अन्तर्वार्ता दिन थाल्छन्। कार्यकर्ता भने दिनभरका चुनावी सेड्युल बनाउँछन्। ६ बज्दानबज्दै घरदैलोमा निस्कन्छन्। मध्याह्न १२ देखि १ बजेसम्म घरदैलो र कोठेबैठक चल्छ। त्यसपछि चुनावका लागि खोलिएको सम्पर्क कार्यालय पुग्छन्।
केही बेरपछि पुनः घरदैलो कार्यक्रमका लागि निस्कन्छन्। यो क्रम रातको १० देखि ११ बजेसम्मै चल्छ। पार्टीले खोलेको मिडिया सेन्टरमार्फत प्रचारप्रसार प्रचारप्रसारका लागि उनले मिडिया र सामाजिक सञ्जाल दुवैलाई भरपुर प्रयोग गरेका छन्। दैनिक दर्जनभन्दा धेरै मिडियामा अन्तर्वार्ता दिन्छन्। स्थानीय निर्वाचनका लागि भनेर पार्टीले खोलेको मिडिया सेन्टरमार्फत प्रचारप्रसार गर्न हतपत चुक्दैनन्। उनकै नाममा फेसबुक पेज छ। ‘चुनावमा प्रचारप्रसार गर्न आवश्यक छ। यसका लागि घरदैलोदेखि मिडिया, सामाजिक सञ्जाल प्रयोग गरेको छु। पार्टीले पनि प्रचारप्रसारमा सहयोग गरेको छ। कार्यक्रममा केन्द्रीय तहका नेता पनि सहभागी हुन्छन्। यसले प्रचारप्रसारलाई निकै सहयोग गरेको छ,’ उनले भने। माओवादी माओवादी उम्मेदवार डंगोललाई खाना खाने फुर्सद छैन माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोल पनि प्रचारप्रसारमा दह्रिलो ढंगले उत्रिएका छन्। चुनावकै लागि भनेर उनी बिहान ५ बजे उठिसक्छन्। बिहान ६ बजदेखि घरदैलो कार्यक्रम सुरु हुन्छ। कोठेबैठक, राजनीतिक भेटघाट र घरदैलो कार्यक्रम सकिँदा दिउँसो १ बज्छ। खानाको कुनै टुंगो छैन। कार्यक्रम सकिएपछि असनमा खोलिएको अस्थायी कार्यालय पुग्छन्। चुनावी प्रचारप्रसारसम्बन्धी रणनीति बनाउँछन्। केही मिडियालाई अन्तर्वार्ता दिएपछि पुनः घरदैलो कार्यक्रम सुरु हुन्छ। रातको १० बजेसम्म उनी घरदैलोमै व्यस्त रहन्छन्। प्रचारप्रसारका लागि मिडिया र सामाजिक सञ्जाल दुवै बराबर प्रयोग गरेका छन् उनले। दैनिक १० भन्दा धेरै अन्तर्वार्ता मिडियालाई दिन्छन्। उनकै नाममा फेसबुक पेज छ। ‘प्रचारप्रसारको जमाना छ। चुनावमा त झन् प्रचारप्रसार निकै आवश्यक छ।
सात दिनदेखि यसैमा व्यस्त छु। सामाजिक सञ्जाल पनि प्रयोग गरेको छु। पर्चा पनि छपाएको छु,’ उनले भने। साझा पार्टी साझा पार्टीका उम्मेदवार थापाको हाइटेक प्रचार शैली साझा पार्टीबाट मेयरका उम्मेदवार किशोर थापाले भने प्रचारप्रसारमा हाइटेक प्रविधिलाई बढी जोड दिएका छन्। घरदैलो कार्यक्रम खर्चिलो र पुरानो शैली भएकाले यसमा त्यति ध्यान नदिएको उनले बताए। विशेषगरी उनले फेसबुक र ट्विटरलाई धेरै प्रयोग गरेका छन्। कार्यकर्तामार्फत महानगरभित्रका मतदातालाई टेलिफोन गरेर भोट माग्ने प्रक्रिया पनि अपनाएका छन्। यसरी उनले दैनिक चार हजारभन्दा धेरै मतदातालाई फोन गर्ने गर्छन्। ‘घरदैलो कार्यक्रम पुरानो शैली हो। यसमा खर्च पनि धेरै छ। त्यसको ठाउँमा हामीले प्रविधि प्रयोग गरेका छौँ। फेसबुक र ट्विटर यसमा धेरै प्रयोग भएका छन्। मिडियासँगको अन्तर्वार्तालाई पनि उत्तिकै प्रयोग गरेका छौँ,’ उनले भने। संघीय समाजवादीका बज्राचार्य घरदैलो र सामाजिक सञ्जाल दुवैमा सक्रिय संघीय समाजवादी फोरम तथा नयाँ शक्ति नेपालका तर्फबाट मेयरका उम्मेदवार पवित्र बज्राचार्यले पनि चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन्। घरदैलो, मिडिया तथा सामाजिक सञ्जाल सबैलाई उनले प्रयोग गरेका छन्। बिहान ६ बजेदेखि नै उनको घरदैलो कार्यक्रम सुरु हुन्छ। यो क्रम बेलुका १० बजेसम्म नै चल्छ। ४० भन्दा धेरै मिडियामा उनले अन्तर्वार्ता दिइसके। सामाजिक सञ्जालका लागि उनको आफ्नै नाममा फेसबुक पेज छ। ‘प्रचारप्रसार नगरी चुनाव जित्न सकिन्न। यसका लागि घरदैलोदेखि मिडिया प्रयोग गरेको छु। अन्तर्वार्ता दिन्छु। फेसबुक प्रयोग गर्छु। प्रचारप्रसारका लागि कार्यालय पनि छ। साथीहरू यसमा सक्रिय छन्,’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया