यस्तो छ प्रचण्डको भारत भ्रमण तालिका

काठमाडौं ३० भदौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने राजकीय भ्रमणका लागि बिहीबार दिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी दिल्ली जान लागेका हुन् । प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीसँग उनकी श्रीमती सीता दाहाल सहभागी हुनेछिन् । प्रधानमन्त्री प्रचण्डलाई राजकीय पाहुनाको रुपमा राष्ट्रपति भवनमा राखिने भएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुने छन् । केही सांसद, बिभिन्न मन्त्रालयका पदाधिकारी, संचारकर्मीलाई पनि भ्रमणमा सहभागी गराइने छ। भ्रमणको कार्यतालिकाअनुसार भदौ ३० गते प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने छन् । त्यही दिन उनले भारतका बिभिन्न दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् । भदौ ३१ प्रचण्डको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रम आयोजना गरिएको छ।

त्यसैदिन उनी माहात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने तालिका छ । भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग र भारतीय समकक्षी नरेन्द्र मोदीसँग अलगअलग भेटवार्ता गर्नेछन् । सोही दीन केही भारतीय मन्त्रीहरुले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन् । असोज १ गते प्रधानमन्त्री दाहालले हिमाञ्जल प्रदेश स्थित जलविद्युत परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन उनले पतञ्जली योगपिठको पनि अवलोकन गर्ने कार्यक्रम पनि मिलाइएको छ। प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । प्रचण्डको भ्रमणमा छवटा विकास आयोजनामा समझदारी गर्ने तयारी भएको छ । भारतसँग सम्वन्ध सुधारका साथै हुलाकी सडक, तल्लो अरुण जलविद्युत आयोजना, पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने, उर्जा व्यापार सम्झौताको कार्यान्वयन, भुकम्पपछिको पुर्ननिर्माणको प्रथमिकता तय र अहिलेसम्म भएका सहमतिलाई तत्काल कार्यावन्यनमा ल्याउने विषयमा भ्रमण केन्द्रित रहने बताइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया