यस्तो छ बाबुरामको नयाँ शक्तिको विकास योजना !

काठमाडौं २४ जेष्ठ।

डा. बाबुराम भट्टरार्इले घोषणा गरेको पार्टी नयाँ शक्ति नेपालले खुल्ला बजार अर्थतन्त्रलार्इ अंगिकार गर्दै सात वर्षदेखि २५ वर्षसम्मको विकास अबधारणासहितको आर्थिक घोषणापत्र तयार पारेको छ ।

नयाँ शक्तिको आर्थिक घोषणापत्रले निजी क्षेत्रको लगानीलार्इ प्रोत्साहित गरेर मुलुकको विकास गर्ने लक्ष्य लिएको छ । स्वदेशी लगानीलार्इ प्रोत्साहित गर्दै राष्ट्रिय सुरक्षासँग गाँसिएका वाहेकका सबै क्षेत्रमा विदेशी लगानी खुल्ला गर्ने नीति नयाँ शक्तिले लिएको छ ।

‘सहभागितामूलक समाजवादी व्यवस्था उन्मुख सामाजिक न्यायसहितको उदारवादी बजारमुखी अर्थतन्त्र’ निर्माण गरी सबैका लागि समृद्धि हासिल गर्ने दीर्घकालिन आर्थिक सोच नयाँ शक्तिले राखेको छ ।

प्रधानमन्त्री हुँदा भारतसँग द्धिपक्षीय लगानी संरक्षण सम्झौंता, लगानी बोर्ड जस्ता संयन्त्र तयार गरेका भट्टरार्इको नयाँ शक्तिले मुलुक विकासको दीर्घकालिन आर्थिक सोच तयार पारेको हो । यो तयार भएको आर्थिक सोच जेठ ३० गते सार्वजनिक गरिने भएको छ ।

नयाँ शक्तिको विकास र समृद्धिको मार्गचित्रमा  आगामी सात वर्षभित्र नेपाललार्इ विकासशील राष्ट्रको दर्जामा पुर्याउने उल्लेख छ । यही अवधिमा निरपेक्ष गरीबीको रेखामुनी रहेका जनसंख्यालार्इ १० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । निरपेक्ष गरीबी अहिले २५ प्रतिशत छ ।

यस अवधिमा प्रत्येक घरमा सफा खानेपानी, केन्द्रीय ग्रिडको विद्युत, ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी, सबै नगर र गाउँ विकास समितिमा मोटर चल्ने सडक, वार्षिक दुर्इ लाख गुणस्तरयुक्त रोजगारी पुर्याएर वैदेशिक रोजगारीमा जाने संख्या पाँच सयमा झार्ने लक्ष्य लिइएको छ । अहिले दैनिक १५ सयको हाराहारीमा वैधानिक रुपमा नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

सात वर्षे सोचमा उत्तर दक्षिण आर्थिक कोरिडर संचालनमा ल्याउने उल्लेख छ । नयाँ शक्तिले १५ वर्षको आर्थिक सोचमा मध्यम आय भएको मुलुकको दर्जामा नेपाललार्इ पुर्याउने, निरपेक्ष गरीबीमा रहेको जनसंख्या शुन्यमा झार्ने, तीन वटा उत्तर दक्षिण आर्थिक कोरिडर संचालनमा ल्याउने, मुलुकमै अवसर नपाएर बाध्यतावश वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने, वैदेशिक अनुदान लिन बन्द गर्ने, बस्तु तथा सेवाको निर्यात र बस्तुको आयातबीच सन्तुलन हासिल गर्ने उल्लेख छ ।

नयाँ शक्तिले २५ वर्षेमा मुलुकलार्इ विकसित राष्ट्रको दर्जामा पुर्याउने लक्ष्य राखेको छ । नयाँ शक्तिले बन्द, सार्वजनिक हडताल, नाकाबन्दी र चक्काजाम नगर्ने प्रतिवद्धता जनाउनेछ । यो दलले तयार आर्थिक घोषणापत्रमा निजी लगानी र सम्पतिको पूर्ण रुपमा सुरक्षा गर्ने उल्लेख छ ।

आर्थिक सोचमा कुनैपनि सरकारी तथा निजी संगठनहरुमा नयाँ शक्तिको भगिनी संगठन वा राजनीतिक इकार्इ नराख्ने प्रतिवद्धता व्यक्त गरेको छ । श्रमिकहरुको हकका लागि यो पार्टीको श्रम संगठनले समष्टिगत र इकाइगत औद्योगिक सम्वन्धको निरन्तर निगरानी र सामूहिक सौदावाजीमा सहजीकरण गर्ने आर्थिक सोचमा उल्लेख छ ।

व्यवसाय सुरु गर्न, कम्पनी स्थापना गर्न र व्यवसाय बन्द गर्न लाग्ने प्रक्रिया सरलीकरण गरिने उल्लेख छ । नयाँ शक्तिले पूर्वाधार विकासमा पनि अग्रगामी सोचसहितको परिकल्पना अघि सारेको छ ।

पाँच हजार मेगावाट क्षमता भएका जलाशययुक्त आयोजना निर्माण, भारतीय सीमादेखि उत्तर चिनियाँ सीमा जोड्ने चार वटा उत्तर दक्षिण राजमार्गसहितको आर्थिक कोरिडर,काठमाडौं बिरगञ्ज,काठमाडौं विराटनगर, काठमाडौं पोखरा र लुम्बिनी पोखरा द्रुतमार्ग निर्माण, मधेश, मध्य पहाड र उच्च पहाडमा पूर्व पश्चिम राजमार्ग निर्माण गरिने नयाँ शक्तिको आर्थिक घोषणामा उल्लेख छ । प्रत्येक जिल्ला सदरमुकाममा डबल लेनको राजमार्ग र प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख छ ।

नयाँ शक्तिले आधारभूत शिक्षासम्म निशुल्क बनाउने, आधारभूत निरोधात्मक स्वास्थ्य निशुल्क, कडा रोगको उपचारमा न्यून आय भएकालार्इ सहज बनाउने प्रतिवद्धता गरिएको छ। नयाँ शक्तिले सामाजिक सुरक्षामा समेत दीर्घकालिन सोच राखेको छ ।

अशक्त, टुहुरा र जेष्ठ नागरिकलार्इ सम्मानित जीवन र सामाजिक सुरक्षाको प्रवन्ध गर्ने, किसानलार्इ मौसमी वा रोगब्याधीका कारणले आउने विपदका विरुद्ध प्रभावकारी संरक्षण र उपभोक्तालार्इ गुणस्तरयुक्त सेवा तथा सामान पाउने हकको सुरक्षा गरिने घोषणापत्रमा उल्लेख छ । बिजमानडु डटकममा खबर छ ।

नयाँ शक्ति नेपालले राखेको यो आर्थिक विकासको मार्गचित्र कार्यान्वयनका लागि सरकार निर्माणको हैसियतमा पुगे मात्रै सम्भव हुने उल्लेख गरेको छ । हामीले प्रस्तुत गरिएको विकासको मार्गचित्र कार्यान्वनका लागि यो दल सरकारमा पुग्नुपर्छ, नयाँ शक्तिले भनेको छ, जुन अहिलेको संविधान २०७४ अनुसार माघसम्म सम्भव छैन । २०७४ सालको मध्यतिर हुने आम निर्वाचनमा हामीले मताधिकार पाएर सरकार निर्माणको हैसियतमा पुगेमा हामीले राखेको आर्थिक सोच कार्यान्वयन गर्छौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया