यी हुन् सञ्चार सम्पर्कविहीन ४ गाउँपालिका

काठमाडौँ ७ असार
स्थानीय तहको निर्वाचनको मुखैमा समेत चार गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका छन् । हिमाली, पाण्डवगुफा, स्वामीकार्तिक र गौमुल गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका हुन् ।

सदरमुकाम मार्तडीबाट सबैभन्दा नजिक रहेको गौमुल गाउँपालिकामा समेत सञ्चार सम्पर्क हुन नसकेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताएका छन् । चारवटै गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा नभएका कारण निर्वाचनको गतिविधिबारे जानकारी पाउन नसकिएको उनले बताए ।

“फोन सम्पर्क हुन सकिरहेको छैन, निर्वाचन गतिविधिबारे बेखबर छौं”, सेनले भने– “गौमुल गाउँपालिका चार घन्टाको पैदल दुरीमा छ तर पनि मनोनयन दर्ता भएको चार दिन बित्दा समेत कुनै जानकारी पाउन सकेका छैनौं ।”

स्वामीकार्तिक, हिमाली र पाण्डवगुफा गाउँपालिका मार्तडीबाट दुई दिनको पैदल दुरीमा रहेका छन् । त्यहाँ नेपाल प्रहरीको मोबाइल सेटले समेत काम गरेको छैन । संवेदनशील ठाउँ भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी उल्लेख्य सङ्ख्यामा खटाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया