यी १० फलफूल तथा तरकारीमा तोकिने भयो विषादी सीमा

काठमाडौं  १५ साउन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने तयारी गरेको छ।

विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो ।

‘तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम सीमा तोकी डब्लुटिओ नोटिफिकेशनपश्चात् नेपाल राजपत्रमा प्रकाशनको प्रक्रियामा छ,’ प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘राजपत्रमा प्रकाशनपश्चात् कार्यान्वयमा जान्छौं।’

विभागका अनुसार निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार भन्सार बिन्दुमा क्वारेन्टाइन प्रक्रिया र जीवनाशक बिषादीको अवशेष परीक्षण गर्नुपर्ने व्यवस्थाअनुसार सीमा तोक्ने तयारी गरेको हो।

हाल मुलुकभित्र करिब २८/२९ ग्रुपका बिषादी प्रयोग भइरहेका छन्। ती बिषादी तरकारी, फलफूल, अन्यखेती बालीसँगै अन्य प्रयोगनमा प्रयोग हुन्छ।

मुलुकमा स्वदेशी उत्पादनसँगै अधिकांश तरकारी र फलफूल भारत र चीनबाट आयात हुन्छ । तर, परीक्षणका लागि पर्याप्त मात्रामा प्रयोगशाला नहुँदा प्रभावकारी रुपमा परीक्षण हुन सकेको छैन।यो खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया